१८ असार,काठमाण्डाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आजदेखि राज्यको तर्फबाट प्राप्त गर्दै आएका सम्पूर्ण सेवा-सुविधाहरू त्यागेकी छन्। नेकपा एमालेको राजनीतिमा पुनः सक्रिय हुने आफ्नो घोषणासँगै उनले यो महत्वपूर्ण निर्णय गरेकी हुन्।
भण्डारीको सचिवालयले गृह मन्त्रालयमा पठाएको पत्र आज दर्ता भई सम्बन्धित शाखामा पठाइएको गृह मन्त्रालयले जनाएको छ।
सरकारले प्रदान गर्ने सेवा-सुविधा परित्याग गर्ने भण्डारी सम्भवतः नेपालको इतिहासमै पहिलो पूर्वराष्ट्राध्यक्ष हुन्। यसअघि प्रधानमन्त्री र सभामुख भइसकेका कतिपय नेताहरूले सरकारी सुविधा लिँदै पार्टीको कार्यकारी भूमिकामा रहँदै आएका छन्।
गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार, भण्डारीले चाहेर पनि पूर्वराष्ट्र प्रमुखको हैसियतमा प्राप्त हुने सुरक्षा प्रोटोकल भने त्याग्न मिल्नेछैन।
सेना र प्रहरीले प्रदान गर्ने यो सुरक्षा सुविधा अनिवार्य हुनेछ।
गृह मन्त्रालयका अनुसार, भण्डारीलाई यसअघि एक उपसचिव सरहका स्वकीय सचिव र कार्यालय सहयोगी लगायतका लागि मासिक डेढ लाख रुपैयाँ उपलब्ध गराइँदै आएको थियो। रत्नराज्य लक्ष्मी क्याम्पसका पूर्वस्ववियु सभापति राजकुमार राई उनको स्वकीय सचिवका रूपमा कार्यरत थिए। अब उनले यो सुविधा पाउने छैनन्।
यसैगरी, पूर्वराष्ट्र प्रमुखका लागि खटिने सुरक्षाकर्मीहरूका लागि छुट्टै घरभाडा पनि राज्यले उपलब्ध गराउँदै आएको थियो। यो सुविधा पनि परित्यागको घोषणासँगै निष्क्रिय हुनेछ, यद्यपि सुरक्षाकर्मीको उपस्थित भने कायमै रहनेछ।
भण्डारीले अन्य पदाधिकारीले जस्तो गाडी सुविधा भने लिएकी थिइनन्। तर, मासिक २०७ लिटर पेट्रोल भने उपलब्ध गराइँदै आएको थियो। साथै, सुरक्षाकर्मीको घरभाडा सम्बन्धित घरधनीलाई नै उपलब्ध गराइँदै आएको थियो।
भण्डारीको यो कदमलाई राजनीतिक वृत्तमा विभिन्न कोणबाट हेरिएको छ। विशेषगरी, नेकपा एमालेको राजनीतिमा उनको सक्रियताले आगामी दिनमा कस्तो प्रभाव पार्ला भन्ने चासो बढेको छ।









प्रतिक्रिया दिनुहोस् !