७ असार,चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–४ डडुवामा शनिबार बिहान भएको भीषण दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्। एक यात्रुवाहक बस र एउटा इभी माइक्रो बस (विद्युतीय माइक्रोबस) एकआपसमा ठोक्किँदा यो दुःखद घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, मृत्यु हुनेमध्ये दुई जनाको मात्रै सनाखत भएको छ। उनीहरू मकवानपुर हटिया-३ का ५५ वर्षीय सोमप्रसाद रुपाखेती र हेटौंडा उपमहानगरपालिका-५ की ५३ वर्षीया मैयाकुमारी न्यौपाने रहेका छन्। अन्य पाँच जनाको पहिचान खुल्न बाँकी छ। पाँच जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकका शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ।
दुर्घटनामा धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ३५८३ नम्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००१ ज २९९ नम्बरको इभी माइक्रो बस ठोक्किएका थिए।
घाइते भएका १८ जनाको भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। प्रहरीका अनुसार, अधिकांश मृतक तथा घाइतेहरू इभी माइक्रो बसमा सवार थिए।
दुर्घटनापछि स्थानीयवासी, प्रहरी र उद्धार टोलीको सहयोगमा तत्काल घाइतेहरूको उद्धार गरी विभिन्न अस्पताल पठाइएको थियो।
प्रारम्भिक अनुमानअनुसार, तीव्र गति र सम्भावित ब्रेक फेलका कारण दुर्घटना भएको हुन सक्ने चितवन प्रहरी प्रमुख गोविन्द पुरीले बताएका छन्। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको उनले जानकारी दिए।
दुर्घटनाका कारण केही समय सडक अवरुद्ध भए पनि अहिले यातायात आवागमन सामान्य अवस्थामा फर्किएको छ।









प्रतिक्रिया दिनुहोस् !