७ असार बारा । सर्लाहीको बरहथवा नगरपालिका–४ खैराटोलमा बाटो विस्तारलाई लिएर भएको विवादले शनिबार बिहान उग्र रूप लिएको छ।
दुई पक्षबीचको झडपमा प्रहरी निरीक्षक सहित तीन जना घाइते भएका छन्। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाई फायरसमेत गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक बालिस्टर सिंहका अनुसार, झडपमा इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी निरीक्षक दिवाकर गणेश घाइते हुनुभएको छ।
उहाँ झडप नियन्त्रणमा लिने क्रममा घाइते हुनुभएको प्रहरीले जनाएको छ। अन्य दुई सर्वसाधारण भने दुई पक्षबीचको आपसमा भएको झडपमा परी घाइते भएका हुन्। घाइतेहरूको उद्धार गरी अस्पताल लैजाने काम भइरहेको छ।
घटनास्थलमा थप हिंसा फैलिन नदिन र शान्ति सुव्यवस्था कायम गर्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। इलाका प्रहरी कार्यालय बरहथवाबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) को नेतृत्वमा र सशस्त्र प्रहरी बलको समेत टोली घटनास्थलमा तैनाथ गरिएको छ।
घटनाबारे थप छानबिन भइरहेको प्रहरीले जनाएको छ।









प्रतिक्रिया दिनुहोस् !