ईर्साद अन्सारी
६ असार,पर्सा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्सा जिल्लाको पोखरिया नगरपालिकाका जिन्सी शाखा, प्रशासन तथा इन्धन वितरण शाखाका प्रमुख सन्दीप साहलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरेको छ।
नगरपालिकाका मेयर प्रद्युम्न चौहानका विश्वासपात्र मानिने साहलाई उनकै निवास प्रगतिनगरबाट पक्राउ गरिएको हो।
अख्तियारका अनुसार, साहले पोखरिया नगरपालिकाका विभिन्न आयोजना र सामान खरिदमा ठेकेदार र सेवाग्राहीसँग अनाधिकृत रूपमा घूस लिएको देखिएपछि पक्राउ गरिएको हो।
प्रारम्भिक अनुसन्धानबाट साहले नगरपालिका अन्तर्गतका विभिन्न परियोजना, ठेक्का तथा आपूर्ति प्रक्रियामा अनियमितता गरेको र घूस लिने गतिविधिमा संलग्न रहेको पाइएको अख्तियारले जनाएको छ। यस घटनामा संलग्न अन्य व्यक्तिबारे छानबिन भइरहेको छ।
अख्तियारले यसअघि बहुदरमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवलाई पनि पक्राउ गरिसकेको छ भने पोखरिया नगरपालिकामा छानबिन जारी राखेको जनाएको छ।
पर्सा जिल्लामा यो पछिल्लो घटनाले भ्रष्टाचारविरुद्धको अभियानलाई थप बलियो बनाएको छ। अख्तियारले सार्वजनिक सेवामा पारदर्शिता र इमानदारी सुनिश्चित गर्नका लागि कडा कदम चालिरहेको सन्देश दिएको छ।









प्रतिक्रिया दिनुहोस् !