६ असार,बारा । सिराहाको गोलबजारमा एक प्रेम सम्बन्धमा रहेकी किशोरीले आफ्ना प्रेमीमाथि छुरा प्रहार गरेकी छिन्। घटना बिहीबार अपराह्न गोलबजार नगरपालिका-१३ दुर्गापुरका २४ वर्षीय अशोककुमार महतोको डेरामा भएको हो। महतोको घाँटीमा छुरा प्रहार भएको छ।
घाइते महतोको स्थानीय भूमिजा अस्पतालमा उपचार भइरहेको छ र उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ।
गोलबजार-२ की १७ वर्षीया ती किशोरीले छुरा प्रहार गरेर भाग्ने क्रममा स्थानीयले उनलाई नियन्त्रणमा लिएका थिए। नियन्त्रणमा लिने क्रममा भएको कुटपिटबाट किशोरी पनि घाइते भएकी छिन्। उनको सिराहास्थित प्रादेशिक अस्पतालमा प्रहरी निगरानीमा उपचार भइरहेको छ र उनको अवस्था सामान्य रहेको बताइएको छ।
सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक डिएसपी वीरेन्द्र कुमार पासवानका अनुसार छुरा प्रहारको कारणबारे अनुसन्धान भइरहेको छ। छुरा प्रहारको कारण स्पष्ट हुन बाँकी छ। घाइतेको स्वास्थ्य जाँच र जाहेरीको आधारमा मुद्दा अगाडि बढाइनेछ डिएसपी पासवानले बताए।
स्थानीयका अनुसार किशोरी पछिल्लो केही दिनदेखि बारम्बार महतोको गोलबजार-४ मा रहेको डेरामा जाने गरेकी थिइन्। बिहीबार उनी कोठामा पुगेको केही समयमै दुई जनाबीच विवाद भएको र सोही क्रममा कोठामा रहेको छुराले प्रहार भएको बताइएको छ।
किशोरीले भने आफूमाथि जबरजस्ती गर्न खोजिएको र आत्मरक्षाका लागि छुरा चलाएको दाबी गरेकी छिन्। यद्यपि, प्रहरीले उनको यो दाबी अनुसन्धानपछि मात्र पुष्टि हुने जनाएको छ। घटनाको थप विवरण प्रहरी अनुसन्धानपश्चात सार्वजनिक गरिनेछ।









प्रतिक्रिया दिनुहोस् !