६ असार,पर्सा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पर्सा जिल्लाको बहुदरमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ।
टंगाल, काठमाडौंबाट खटिएको अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको जानकारी अनुसार, श्रीवास्तवले पोखरिया नगरपालिका र बहुदरमाई नगरपालिकामा विभिन्न योजनाको स्वीकृति, खरिद आदेश तथा ठेक्कासम्बन्धी प्रक्रियामा अनियमितता गरी अवैध रूपमा घुस लिएको आरोप छ।
अनुसन्धानका क्रममा श्रीवास्तवले सार्वजनिक पदको दुरुपयोग गरी व्यक्तिगत लाभका लागि गैरकानुनी रकम मागेको र लिएको प्रमाण फेला परेको अख्तियारका एक अधिकृतले बताएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रीवास्तवविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार थप कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ। आयोगले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाउँदै यस्ता कार्यमा संलग्न व्यक्तिहरूलाई कडा कारबाही गर्ने चेतावनी पनि दिएको छ।









प्रतिक्रिया दिनुहोस् !