५असार,काठमाण्डाैं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले न्याय प्रभावित पार्न न्यायाधीशहरूलाई फोन गर्ने गरेको गम्भीर आरोप लगाएपछि नेपाली कांग्रेसले आपत्ति जनाएको छ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसद सिंहले कानूनमन्त्रीमाथि उक्त आरोप लगाएका थिए। लगत्तै, नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले नियमापत्ति गर्दै सांसद सिंहको भनाइमा आपत्ति जनाइन्। उनले नियम २३ अनुसार नियमापत्ति गरेको बताइन्।
थिङले भनिन्, “सदस्यले बोलेको कुरा सभाको तत्काल विचाराधीन रहेको विषयसँग सम्बन्धित हुनुपर्नेछ भनिएको छ। तर, कानूनमन्त्रीको कल डिटेलको कुरा असम्बन्धित भयो। त्यो रेकर्डबाट हटाइयोस्।”
सांसद सिंहले भने आफ्नो आरोप प्रमाणित नभए सांसद पद त्याग्न चुनौती दिँदै कानूनमन्त्रीको कल डिटेल सार्वजनिक गर्न माग गरेका थिए। उनले न्यायलाई प्रभावित पार्न मन्त्रीले न्यायाधीशहरूलाई फोन गरेको आरोप लगाएका हुन्। यस विषयले संसदमा केहीबेर तनावको स्थिति सिर्जना गरेको थियो।









प्रतिक्रिया दिनुहोस् !