१ असार,बारा। बाराको कलैया उपमहानगरपालिका–१४ बघवनमा बालबालिकाबीचको सामान्य विवादले ५० वर्षीय नन्दुराउत कुर्मीको ज्यान लिएको छ।
स्थानीय उमेश जयसवाल र उनका परिवारजनको कुटपिटबाट कुर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
घटना जेठ २९ गते साँझ भएको थियो। बालबालिकाबीचको विवाद चुलिएपछि जयसवाल परिवारले उमेश कलवारको राइस मिलमा काम गरिरहेका कुर्मीलाई त्यहाँबाट नियन्त्रणमा लिई निर्घात कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएका कुर्मीलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया पुर्याइएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरे।
घटनाको भोलिपल्ट कुर्मीका परिवारजनले जिल्ला प्रहरी कार्यालय, बारामा उमेश जयसवाल, उनकी पत्नी रञ्जु जयसवाल, छोराहरू अमित, सुमित र सुजित जयसवाल, तथा उमेशका मामाका छोरा दिगम्बर जयसवालविरुद्ध किटानी जाहेरी दिएका थिए।
बाराका प्रहरी प्रमुख सन्तोष तामाङले घटनाको अनुसन्धान भइरहेको र आरोपित दिगम्बर जयसवाललाई पक्राउ गरिसकिएको जानकारी दिएका छन्। अन्य पाँचजना आरोपित भने घर छाडेर फरार रहेकाले उनीहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।









प्रतिक्रिया दिनुहोस् !