१ असार,पाचथर । गएराति पाँचथरको हेवाखोलामा निर्माणाधीन बेलिब्रिज भत्किँदा गम्भीर घाइते भएका तीन जना मजदुरको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुने तीनै जना बारा जिल्लाका हुन्।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीका अनुसार, बाराको सिमरा उपमहानगरपालिका–१२ का २२ वर्षीय रुपलाल चौधरी, २७ वर्षीय राजन चौधरी, र २२ वर्षीय राकेश चौधरीको गए राति विराटनगरको नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई जिल्ला अस्पतालले थप उपचारका लागि नोबेल मेडिकल कलेज रेफर गरेको थियो। अस्पतालका चिकित्सकहरूले तीनै जनालाई मृत घोषणा गरेको प्रनाउ बुढाथोकीले जानकारी दिए। मृतकका शव सोही अस्पतालमा राखिएको छ।
यो घटना मेची राजमार्गअन्तर्गत पाँचथरको हेवाखोलामा भएको थियो। सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय इलामले ७० मिटर लामो मोडूलार बेलिब्रिज निर्माण गरिरहेको थियो। फिदिम नगरपालिकातर्फको भागबाट बेलिब्रिज जडान गरी स्काभेटरको सहायताले ठेलेर खोला पारिपट्टि हिलिहाङ गाउँपालिकातर्फ पुर्याउने क्रममा दुर्घटना भएको हो। प्रत्यक्षदर्शीका अनुसार फिदिमतर्फको भागमा भार अत्यधिक हुँदा बेलिब्रिज भाँचिएको थियो। बेलिब्रिज भाँचिदा त्यसमाथि जडानको काम गरिरहेका ६ जना कामदार खोलामा खसेर घाइते भएका थिए।
* दुर्घटनाग्रस्त बेलिब्रिज र पहिलेका घटनाहरू
हेवाखोलामा २०८० असार २ गते आएको बाढीले ४५ मिटर लामो सडक पुल बगाएको थियो। त्यसपछि सोही वर्षको साउनमा करिब ५० मिटर लामो बेलिब्रिज जडान गरिएको थियो। तर, त्यो बेलिब्रिज पनि गत असोज १२ गतेको बाढीले बगाएपछि करिब ९० मिटर तल नयाँ बेलिब्रिज निर्माण भइरहेको थियो। कार्य सम्पन्न हुन लाग्दा यो दुर्घटना भएको हो।
उक्त बेलिब्रिज भारत सरकारले अनुदानमा उपलब्ध गराएको थियो। यसको संरचना निर्माण तथा जडानको काम सुपर सौगात लाइट बिल्डर्स जेभीले करिब रु तीन करोड ४९ लाखको लागतमा गरिरहेको थियो।









प्रतिक्रिया दिनुहोस् !