३१ जेठ,बारा । वीरगञ्जको ऐतिहासिक नारायणी रंगशालालाई चालु आर्थिक वर्षको बजेटमा उपेक्षा गरिएको भन्दै नेपाली कांग्रेस पर्साका नेताहरूले माईस्थान मन्दिर अगाडि विरोध प्रदर्शन र हस्ताक्षर संकलन अभियान चलाएका छन् ।
तर, यही अभियान अहिले सामाजिक सञ्जालमा चर्को आलोचनाको शिकार बनेको छ। सरकारमा आफ्नै पार्टीको नेतृत्व र खेलकुद मन्त्रालयसमेत आफ्नै जिम्मेवारीमा हुँदाहुँदै पनि नेताहरूले सडकमा उत्रिएर हस्ताक्षर संकलन गर्नुलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ‘राजनीतिक नौटंकी’ को संज्ञा दिएका छन्।
“सरकारमा बस्नेहरूले नै जनताबाट मागको हस्ताक्षर संकलन गर्नु विडम्बना हो,” एक स्थानीयले फेसबुकमा लेखेका छन्, “गोठाला जस्तो व्यवहार गरेर पोस्टर टाँस्ने होइन, काम गरेर देखाउने हो।” नागरिकहरूको यो आक्रोशपूर्ण टिप्पणीले कांग्रेस नेताहरूको प्रदर्शनलाई प्रश्नको घेरामा पारेको छ।
प्रदर्शनमा नेपाली कांग्रेस पर्साका नेता ओमप्रकाश शर्मा, प्रदेशसभा सदस्य श्याम पटेल लगायतको सहभागिता थियो। उनीहरूले नारायणी रंगशालालाई बजेटमा निरन्तर बेवास्ता गरिएको भन्दै आक्रोश पोखेका थिए।
नेताहरूले नारायणी रंगशाला मधेश प्रदेशको प्रमुख खेल पूर्वाधार भएको भन्दै यसको स्तरोन्नति तथा संरक्षणका लागि संघीय बजेटमा प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराए।
तर, आम नागरिकको चासो भने फरक छ। उनीहरू प्रश्न गरिरहेका छन् – जब संघीय सरकारमा कांग्रेसको नेतृत्व छ र खेलकुद मन्त्रालय पनि कांग्रेसकै जिम्मेवारीमा छ, तब माग उठाउने होइन, निर्णय गरेर देखाउने बेला हो।
नागरिकहरूले अब शब्द होइन, ठोस कामको अपेक्षा गरेका छन्। “यदि आफ्नै सरकारले न्यायोचित माग पुरा गर्न सक्दैन भने, त्यो सरकारको औचित्य के?” एक अर्का नागरिकले टिप्पणी गरेका छन्।









प्रतिक्रिया दिनुहोस् !