३० जेठ,बारा । वीरगन्जमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा २ जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन्। घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ।
मृत्यु हुनेहरूमा पर्साको छिपहरमाई गाउँपालिका-३ झलमहियाका २३ वर्षीय रामाकान्त यादव र सोही गाउँका २३ वर्षीय विजय यादव रहेका छन्।
वीरगन्ज महानगरपालिका वडा नम्बर २२ ड्राइपोर्ट सडकखण्डस्थित सिताराम चोकमा शुक्रबार बिहान करिब ५ बजेतिर बिग्रिएर सडकमा रोकिराखेको भुस लोड गरिएको एच आर ५५ के ३९७१ नम्बरको ट्रकमा पछाडिबाट सिर्सियाबाट ड्राइपोर्टतर्फ जाँदै गरेको बा. प्रदेश ०३-००४ प ८६१२ नम्बरको मोटरसाइकल ठोक्किएको थियो।
उक्त दुर्घटनामा मोटरसाइकलमा सवार तीनै जना गम्भीर घाइते भएका थिए। नारायणी अस्पतालमा उपचारका क्रममा रामाकान्त र विजयको मृत्यु भएको प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए।
गम्भीर घाइते २२ वर्षीय युवक विजयकुमार यादवको भने नारायणी अस्पतालमै उपचार जारी रहेको छ। उनको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।
ट्रकका चालक ट्रक घटनास्थलमै छाडेर फरार भएकाले उनको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक लम्सालले जानकारी दिए। घटनाबारे थप छानबिन भइरहेको प्रहरीले जनाएको छ।









प्रतिक्रिया दिनुहोस् !