२६ जेठ,बारा। ईलाका प्रहरी कार्यालय सिमरामा भर्खरै सरुवा भई आउनुभएका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले सिमरा जितपुर क्षेत्रमा देखिएको लागूऔषध दुर्व्यसनी र कारोबार नियन्त्रण लगायतका समस्यामा सशक्त अभियान चलाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सोमबार जिल्लाका पत्रकारहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै डीएसपी जोशीले यस क्षेत्रको शान्ति सुरक्षा र अमनचयन कायम राख्न दिनरात खटिने बताउनुभयो।
डीएसपी जोशीले आफूलाई मधेशको भौगोलिक अवस्था बारे राम्रो ज्ञान भएपनि यस प्रदेशमा भने पहिलो पटक जिम्मेवारी पाएको जानकारी गराउनुभयो। उहाँले प्रहरीको कानुनी अधिकारको प्रयोग गर्दै स्थानीय सरकार, पत्रकार तथा अन्य सरोकारवाला निकायहरूसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो। जनताका समस्या र सेवाग्राहीका कामलाई छिटो-छरितो ढंगले समाधान गर्न प्राथमिकता दिने र समाजमा सुशासनको प्रत्याभूति गराउन आफू कटिबद्ध रहेको उहाँको भनाइ थियो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदीले पत्रकारलाई सुराकीको रूपमा प्रयोग नगर्न र उनीहरूको सुरक्षाको साथै सामाजिक रूपान्तरणमा हातेमालो गर्न डीएसपी जोशीलाई सुझाव दिनुभयो। उहाँले पत्रकारहरूलाई सत्यतथ्य, प्रमाणित सूचनामा आधारित भई समाजलाई दिशानिर्देश गर्ने समाचार लेख्न कसैसँग डराउनु नपर्नेमा जोड दिनुभयो।
सो कार्यक्रममा नेपाल पत्रकार महासंघ बाराका सचिव पुष्पराज खतिवडा, पूर्व उपाध्यक्ष राकेश पाण्डेय, पूर्व प्रदेश महासंघ सदस्य महेश्वर अधिकारी, मानवअधिकार एलायन्स मधेश प्रदेशका अध्यक्ष अनिल तिवारी, पत्रकारहरू विदुर खड्का, शारदा पोखरेल, मनोज साह, अखिलेश यादव लगायत एक दर्जनभन्दा बढी पत्रकारहरूको उपस्थिति रहेको थियो।
डीएसपी जोशीको कार्यकालमा सिमरा जितपुर क्षेत्रमा लागूऔषध नियन्त्रण र शान्ति सुव्यवस्थामा उल्लेख्य सुधार आउने अपेक्षा गरिएको छ।









प्रतिक्रिया दिनुहोस् !