काठमाडौं, २६ जेठ: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गृह सचिव गोकर्णमणी दुवाडीलाई अध्यागमन कार्यालयमा दरबन्दीभन्दा बढी कर्मचारी खटाएको सम्बन्धमा सात दिने स्पष्टीकरण सोधेको छ।
प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्कीले गृह सचिव दुवाडीलाई पत्र लेख्दै दरबन्दीभन्दा बढी कर्मचारी खटाउनुको कारण र त्यसको पूर्ण विवरण उपलब्ध गराउन माग गरेका छन्।
यो प्रकरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियता पछि बाहिर आएको हो। गृह मन्त्रालयअन्तर्गत अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र केही जिल्ला प्रशासन कार्यालयहरूमा दरबन्दीभन्दा बढी कर्मचारी राखिएको तथा दरबन्दी नभएका स्थानमा काजमा कर्मचारी खटाइएको भन्दै उजुरी परेको थियो। यस सम्बन्धमा अख्तियारले कारबाहीका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको थियो।
विशेषगरी, भिजिट भिसा प्रकरणमा गृह सचिव दुवाडीका विश्वासपात्र मानिएका सहसचिव तीर्थ भट्टराईलाई अख्तियारले अनुसन्धानमा तानेपछि विमानस्थलस्थित अध्यागमन कार्यालयमा दरबन्दीभन्दा बढी कर्मचारी खटाइएको विषय सार्वजनिक भएको थियो। अख्तियारले २०८२/०२/१३ मा पत्र लेखी तत्काल छानबिन र कारबाही गर्न निर्देशन दिएसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गृह मन्त्रालयलाई यो पत्र पठाएको हो।
यद्यपि, प्रधानमन्त्री कार्यालयले स्पष्टीकरण सोधेको बेला गृह सचिव दुवाडी भने विदेश भ्रमणमा रहेको बुझिएको छ। यस प्रकरणको छानबिनले केही महत्त्वपूर्ण विषयहरू बाहिर ल्याउने अनुमान गरिएको छ।









प्रतिक्रिया दिनुहोस् !