रमेश सुबेदी
२१ जेठ,बारा । चीनबाट सर्लाहीको बलरा हुँदै भारततर्फ भइरहेको स्याउ तस्करीमाथि सशस्त्र प्रहरीले साेमबार राति गरेको कारबाहीले तस्कर समूहको ‘ढाड भाँचिएको’ प्रहरी अधिकारीहरूले दाबी गरेका छन्।
मधेश प्रदेश सशस्त्र प्रहरी बल छिनमस्ता बाहिणीका प्रमुख डीआईजी कृष्ण ढकालले १५ लाख मूल्यको गाडी र साढे ४ लाख रुपैयाँ बराबरको स्याउ बरामद गरी भन्सारमा बुझाएको जानकारी दिएका छन्।
यद्यपि, तस्कर समुहले स्थानीयलाई ढाल बनाएर पेट्राेल बम प्रहार गर्दै ६ वटा गाडी भारततर्फ भगाउन सफल भए पनि यो अपरेसनले भन्सार छली गर्ने समूहलाई ठूलो धक्का पुगेको डीआईजी ढकालको भनाइ छ।
यस घटनाले तस्करी नियन्त्रणमा सुरक्षा निकायको सक्रियता देखाए पनि, भन्सार छलीको मूल जरो अझै मजबुत रहेकोतर्फ गम्भीर प्रश्नहरू खडा गरेको छ।
सामान्यतया, सीमावर्ती नाकाहरूमा सरकारले साना भन्सार कार्यालयहरू स्थापना गरेको हुन्छ, जसको मुख्य उद्देश्य राजस्व संकलन र अवैध कारोबार नियन्त्रण गर्नु हो।
तर, प्राप्त जानकारी अनुसार, ती कार्यालयहरूमा कर्मचारीहरू नियमित रूपमा नबसी सदरमुकाममै बस्ने प्रवृत्ति व्याप्त छ। यसले सीमा नाकाहरूमा भन्सार छलीका लागि सहज वातावरण बन्न पुगेको स्पष्ट देखिन्छ।
अर्कोतर्फ, यदि यी साना भन्सार कार्यालयहरूमा कर्मचारीहरू बसेर भन्सार काट्ने अधिकार प्रयोग गर्ने हो भने, तस्कर समूहहरू भन्सार छल्न बाध्य हुनेछन् र यसले राजस्व संकलनमा समेत उल्लेख्य वृद्धि हुनेछ। तर, कर्मचारीहरूको अनुपस्थिति वा अनियमितताले गर्दा भन्सार छली झन् मौलाएको अवस्था छ।
डीआईजी ढकालको दाबी अनुसार, यो अपरेसनले तस्कर समूहको ढाड भाँचिएको भए पनि, यसको दीर्घकालीन प्रभाव कति हुन्छ भन्नेमा प्रश्न उठ्ने ठाउँ छ। जबसम्म सीमावर्ती भन्सार कार्यालयहरूमा कर्मचारी व्यवस्थापन चुस्त दुरुस्त हुँदैन, र ‘लाइन’ दिने घुमुवाहरूको संलग्नतामाथि छानबिन र कारबाही हुँदैन, तबसम्म यस्ता ‘सफल अपरेसन’ हरू अस्थायी मात्र हुनेछन्।
यो घटनाले सीमा सुरक्षा र राजस्व संकलनमा जोडिएका निकायहरूबीचको समन्वय, कर्मचारीहरूको उत्तरदायित्व र भन्सार प्रशासनको समग्र प्रभावकारितामाथि पुनः विचार गर्नुपर्ने आवश्यकता औंल्याएको छ। अन्यथा, केही स्याउ बरामद गरेर तस्करको ‘ढाड भाँचियो’ भनिए पनि, वास्तविक रूपमा भन्सार छलीको जालो अझै कसिलो नै रहने जोखिम कायमै छ।









प्रतिक्रिया दिनुहोस् !