१५ जेठ,बारा । बारा जिल्लाको प्रसौनी गाउँपालिका–६ मा बुधबार राति एक ८ वर्षीया बालिकामाथि भएको बलात्कारको घटनाले गम्भीर मानव अधिकार उल्लंघनको संकेत गरेको छ। पीडितको परिवारले दोषी उम्काउन स्थानीय राजनीतिक नेताहरूले दबाब दिएको आरोप लगाएका छन्।
प्रहरीले प्रारम्भिक अनुसन्धानका लागि ६ जनालाई नियन्त्रणमा लिएको भए पनि उनीहरूको परिचय सार्वजनिक गरिएको छैन। पीडित बालिकाका बुबाका अनुसार उनले बलात्कारपछि रगताम्य कपडा र एक जना शंकास्पद व्यक्तिलाई आफैँ समातेर प्रहरीलाई बुझाएका थिए। तर, प्रहरी प्रशासनले उक्त व्यक्तिलाई नस्वीकार्ने मात्र होइन, पीडित पक्षलाई गाली गर्दै चौकीबाट फर्काएको आरोप छ।
हाल बालिकाको उपचार बिरगञ्जस्थित नारायणी अस्पतालमा भइरहेको छ। अस्पताल स्रोतका अनुसार बालिकाको अवस्था गम्भीर छ तर चिकित्सकीय निगरानीमा राखिएको छ।
घटनामा संलग्न रहेको आरोप लागेका व्यक्तिहरूको आधिकारिक प्रतिक्रिया लिन सकिएको छैन। प्रहरी प्रशासनले आधिकारिक वक्तव्य दिन अस्वीकार गरेको छ, तर अनुसन्धान जारी रहेको जानकारी दिएको छ।
नेपाल पत्रकार महासंघ बाराका पूर्व उपाध्यक्ष राकेश पाण्डेयले भने, “यस्ता अपराधीलाई राजनीतिक संरक्षण दिनु दुःखद छ। लोकतन्त्र बदनाम भएको छ। पीडितलाई न्याय र दोषीलाई कडा कारबाही हुनुपर्छ।”
यस घटनाले पुनः एकपटक न्याय प्रणाली र प्रहरीमाथि राजनीतिक हस्तक्षेपको गम्भीर प्रश्न उठाएको छ। पीडित पक्षले न्यायको माग गर्दै सम्बन्धित निकायहरूलाई तत्काल छानबिन गर्न आग्रह गरेका छन्।









प्रतिक्रिया दिनुहोस् !