२२ जेठ काठमाडौं / नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धिरजप्रताप सिंहले बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बढुवामा ‘ब्याच जम्प’ गर्न नदिने प्रतिबद्धता प्रकट गरेका छन् । आफ्नो समूहबाट विश्वराज पोखरेल एसएसपीबाट डीआइजी हुँदै ‘ब्याच जम्प’ गरेर १७ महिनाअघि एआइजी बढुवा भएको पीडा भोगेका महानिरीक्षक(आइजीपी) सिंहले ब्याचीहरुबीचमा प्रतिस्पर्धा गराउने बताएका छन् । एसएसपीबाट डीआइजी बढुवाको सम्मुखमा आइजीपी सिंहले ‘ब्याच जम्प’ नगर्ने बताएका हुन् । डीआइजी बढुवामा ‘ब्याच जम्प’ गर्नका लागि १ बर्षअघि एसएसपी भएकाहरु पनि शक्तिकेन्द्र धाउन थालेपछि आइजीपी सिंहको यस्तो धारणा आएको छ । डीआइजीका १७ रिक्त पदमा ३७ भन्दा बढी एसएसपीहरु प्रतिस्पर्धामा छन् । एआइजी बढुवा भएलगत्तै डीआइजी बढुवा हुनुपर्नेमा गृहमन्त्री बालकृष्ण खाँण र बालुवाटारबीच कुरा नमिलेकै कारण बिलम्ब भएको स्रोत बताउँछ । गृहमन्त्री बालकृष्ण खाँणले हराएको चेक भरेर रकम बार्गेनिङ गरेको काण्डमा कारबाहीमा परेका एसएसपी अशोक सिंहलाई बढुवा नगर्ने अडान लिएका छन् । बालुवाटारबाट भने अशोक सिंहले बरियतामा पहिलो नम्बरमा बढुवाका लागि दबाब दिइरहेका छन् । डिआइजी राजेशलाल कर्णको संयोजकत्वमा छानबिन समितिले चेकसम्बन्धी उजुरीमा गलत मनसाय राखेर अनुसन्धान गरेको भन्दै एसएसपी अशोक सिंहलाई कारबाहीको सिफारिस गरेको थियो । चेक बाउन्स नै नभएको अवस्थामा भेटवालले उजुरी गरेको र प्रहरीले क्षेत्राधिकारबाहिर गएर सो मुद्दाको अनुसन्धानमा बद्नियत राखेको प्रतिवेदनमा उल्लेख गरिएको थियो । तर तिनै कारबाही सिफारिस भएका अशोक सिंहलाई बढुवा गर्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवाका साला भूषण राणासमेत लागेका छन् । गृहमन्त्री खाँणले २०७८ कात्तिक ९ मा काठमाडौं परिसरबाट गरेको सरुवा बालुवाटारबाट थमौती गरी उनलाई चुनौती दिएका एसएसपी अशोक सिंहले डीआइजी बढुवामा पनि गृहमन्त्री खाँणलाई माथिबाटै चर्को दबाब दिएर एक नम्बरमा पर्न खोजेकै कारण बढुवा अलपत्र परेको छ । अशोक सिंह डीएसपीदेखि नै बढुवामा पछि परेका हुन् । तत्कालीन आइजीपी ओमविक्रम राणा र उपेन्द्रकान्त अर्यालकै कार्यकालमा कमजोर कार्यक्षमताका कारण बढुवा हुन नसकी छुटेका हुन् अशोक सिंह । लैनचौर वडा प्रहरीदेखि धादिङ जिल्ला, काठमाडौं परिसरसम्ममा काण्डैकाण्डमा मुछिएका एसएसपी अशोकलाई आइजीपी सिंहले आफ्नै प्रतिबद्धता बिपरीत १ नम्बरमा बढुवा गर्लान् त ? प्रहरीभित्रै यस्तो प्रश्न उठेको छ । तत्कालीन वडा प्रहरी कार्यालय लैनचौरको इन्स्पेक्टर हुँदा ब्यवसायीसँग घुस पनि लिने पक्राउ पनि गर्ने गरेको आरोप अशोक सिंहमाथि लाग्ने गरेको थियो । डीआइजी बढुवाका लागि अघिल्लो लटका एसएसपीहरुमा २०७५ फागुन ६ मा बढुवा भएका टेकप्रसाद राई, उमेशराज जोशी, दीपक थापा, श्यामलाल ज्ञवाली, रामदत्त जोशी, सन्दीप भण्डारी, मिरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोख्रेल, टेकबहादुर तामाङ, बसन्तबहादुर कुँवर र भीम ढकाल छन् । उनीहरुमध्ये को पहिलो नम्बरमा हुने भन्ने चर्को भीडन्त छ । अर्को लटका बढुवाको लाइनमा एसएसपीहरुमा जनक भट्टराई, विष्णु कुमार केसी, भरतबहादुर बोहरा अगाडि छन् । तर कुबेर कडायत, केदार ढकाल, अशोक सिंह, सुदीप गिरी, दुर्गा सिंह, रबिन्द्र केसी, राजेशलाल बाँस्तोला, किरण राणा, लालमणि आचार्य, यज्ञबिनोद पोखरेल, चन्द्रकुबेर खापुङ छन् । त्यसैगरी, गतवर्ष मात्र बढुवा भएका उमाशंकर पञ्जियार, अर्जुन चन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्रप्रसाद मैनाली, कृष्णहरि शर्मा पोखरेल, विकासराज खनाल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुदन लुइँटेल र मोहनप्रसाद पोखरेललगायत पनि ब्याच जम्प गर्न सकिन्छ कि भन्ने दाउमा शक्तिकेन्द्रमा धाइरहेका छन् ।
डीआइजी बढुवाका लागि बिचौलियाहरु समेत सक्रिय छन् । अमेरिकी नागरिकता लिएका र नेपालमा प्रहरी र सशस्त्रका ठेक्कापट्टादेखि सरुवा बढुवा गराएर लाभ लिन पल्किएका सुवास पाठक पनि डीआइजी बढुवाका लागि केही एसएसपीहरुलाई बोकेर हिंडेका छन् ।
प्रतिक्रिया दिनुहोस् !