१७ वैशाख,बारा । दुबईमा रोजगारी लगाइदिने भन्दै नक्कली भिसा देखाएर झण्डै १७ लाख रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई पीडित आफैले समातेर प्रहरीको जिम्मा लगाइएक छन ।
परवानीपुर गाउँपालिका–३ निवासी ४५ वर्षीय श्रवन साह रौनियारलाई पीडितहरूले जीतपुरस्थित गढिमाई मन्दिर नजिकैबाट समातेर इलाका प्रहरी कार्यालय सिमराको जिम्मा लगाएका हुन् ।
श्रवनले प्लम्बर हेल्पर र इलेक्ट्रिसियन हेल्परको रूपमा दुबई पठाइदिन्छु भन्दै जीतपुरसिमरा क्षेत्रका ६ जनासंग प्रति व्यक्ति दुई लाख रुपैयाँका दरले रकम उठाएका थिए।
पीडितहरूले विभिन्न चरणमा उनलाई १० लाख ९० हजार रुपैयाँ बुझाएका थिए। तर, उनले वैदेशिक रोजगारको कुनै प्रक्रिया अघि नबढाई सम्पर्क बिहिन्न बनेका थिए।
पीडितहरूमध्ये आर्थिक अभावमा परेका अशोक पासवानले ऋण तिर्न नसक्दा आफ्नो मोटरसाइकल श्रवनको नाममा पास गर्नसमेत बाध्य भएका थिए।
पक्राउपछि थप पीडितहरू पनि अघि आएका छन्। परवानीपुर गाउँपालिका–२ का हाकिम हवारी, सुरेन्द्र साह र रामबाबु रामले समेत ५ लाख ९० हजार रुपैयाँ श्रवनलाई बुझाएको भन्दै प्रहरीमा उजुरी दिएका छन्।
पक्राउ परेपछि खुलेको यो ठगी प्रकरणमा श्रवन विभिन्न स्थानमा लुकेर बस्दै आएका थिए। प्रहरीले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस् !