८ बैसाख,बारा। पूर्वाञ्चल एकता मञ्च, दिल्लीद्वारा आयोजित १२ औं विश्व भोजपुरी सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ ।
सम्मेलनमा भारत बाहेक नेपाल, मौरिसस, ओमान, दुबईलगायत देशहरूको प्रतिनिधिहरुको सहभागिता रहेको थियो । नेपालका तर्फबाट भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरको संयोजकत्वमा आनन्द गुप्ता, रितेश त्रिपाठी र प्रियंका पाण्डे सम्मिलित चार सदस्यीय प्रतिनिधिमण्डलको सहभागिता रहेको थियो ।
सम्मेलनका्े गौरवमय सत्रमा ‘भोजपुरी भाषाको संवैधानिक मान्यता किन आवश्यक छ ?’ भन्ने विषयमा आयोजित साहित्यिक संगोष्ठीको अध्यक्षता भाषाविद् डा. ठाकुरले गरेका थिए भने प्रमुख आतिथ्यतामा भोजपुरी भाषी संघकी अध्यक्ष विदुषी डा सरिता बुधुले गरेकी थिइन् ।
प्राध्यापक गुरुचरण सिंहले उद्घाटन गरेको यस सत्रले विभिन्न कोणबाट भारतीय संविधानको आठौं अनुसूचीमा भोजपुरीलाई किन समावेश गर्नु आवश्यक छ भन्ने बारेमा गम्भीर छलफल र विचार विमर्श भएको थियो । सो अवसरमा मौरिससको तर्फबाट भोजपुरी गीतहरू गाएर संयुक्त राष्ट्र संघको अमूर्त सांस्कृतिक सम्पदाको सूचीमा यसलाई अंकित गरिएको बताउँदै डा. बुधुले भोजपुरीमा भएको अमूल्य खजाना अन्य भाषामा पाउन नसकिने भन्दै त्यसैले, यस्तो
समृद्ध भाषालाई भारतीय संविधानको आठौं अनुसूचीमा समावेश गर्नु पर्ने आवश्यकमा जोड दिइन् ।
कार्यक्रमको उद्घाटनकर्ता प्राध्यापक सिंहले भोजपुरीभन्दा कमजोर भाषाहरुलाई भारतीय संविधानको आठौं अनुसूचीमा समावेश गरिएको बताउँदै भोजपुरी भाषाको अवस्था ठीक नभएको जिकिर गरे । यसका लागि भोजपुरी क्षेत्रका संसद र सरकारका जनप्रतिनिधिहरूको पहल आवश्यक रहेको उनको भनाई छ । सत्रको अध्यक्षको मंचबाट मन्तव्य दिँदै डा. ठाकुरले भोजपुरीको गौरवशाली इतिहासतर्फ सहभागीहरूको ध्यान आकर्षित गर्दै सिद्ध–नाथ सन्तदेखि पं. दामोदर, पं. ज्योतिस्र्वरहरू र महाकवि विद्यापतिले गरेको कडा परिश्रम र योगदानको चर्चा गरे ।
‘नेपालमा यसलाई तेस्रो राष्ट्रिय भाषाको दर्जा प्राप्त छ र भाषा आयोगले यसलाई मधेश र लुम्बिनी राज्यमा आधिकारिक कामकाजी भाषाको रूपमा सिफारिस गरिसकेको छ र यसलाई प्रदेश संसदबाट पारित गराउने प्रयास भइरहेको छ ।’ डा. ठाकुरले जानकारी गराए । उनले आवश्यक परेमा भारतका जनप्रतिनिधिहरूबीच यस विषयमा सहजीकरण गर्न पनि योगदान पु¥याउन सक्ने बताए ।
आयोजक पूर्वाञ्चल एकता मञ्चका राष्ट्रिय प्रवक्ता डा. सन्तोष पटेलको सहजीकरणमा आयोजना भएको यस सत्रमा डा.राजेश पासवान, प्रा. डा.पृथ्वीराज सिंह, जयप्रकाश फकिर, डा. ज्वाला प्रसाद, डा अमरेन्द्र आर्य, डा राजेश माझी, डा विकास कुमार पाठक र केशव भारद्वाजका साथ साथै नेपालका आनन्द गुप्ता, रितेश त्रिपाठी र प्रियंका पाण्डेको सहभागिता रहेको थियो ।
सम्मेलनको एक विशेष सत्रमा डा. गोपाल ठाकुरको ‘भोजपुरीको समाज–भाषिक अध्ययन र भोजपुरी कथा संग्रह ‘लालपुरजा’ भव्य–सभ्य तरिकाले लोकार्पण गरिएको थियो । पुस्तकको लोकार्पण लेखक डा. ठाकुरका साथै पूर्वाञ्चल एकता मञ्चका अध्यक्ष शिवजी सिंह र संयोजक मुकेश सिंह, मौरिससका विद्वान डा सरिता बुधु, प्राध्यापक पृथ्वीराज सिंह, मनिष सिंह, सत्येन्द्र नारायण सिंह, निर्मल सिंह, प्रेम सिंह, एच.पी सिंह र आनन्दी रायलगायत अन्य व्यक्तित्वहरुले संयुक्त रुपमा गरेका थिए ।
नेपालमा भोजपुरीको समाज–भाषिक अध्ययन पुस्तक क्षेत्र–विस्तार, जनसांख्यिकी र भाषिक भिन्नताका साथै अन्तर–भाषिक व्याकरणीय विशेषताहरूमा आधारित छ । कथा संग्रहमा भने नेपालको मधेश क्षेत्रमा हुँदै आएका कैयन घटनाको आख्यानीकरणको रुपमा हास्य–व्यंग र कारुणिक चित्रण प्रस्तुत गरिएको छ ।
यस अवसरमा अध्यक्ष तथा संयोजक सिंहद्वय डा. ठाकुरका साथै नेपाली प्रतिनिधिमण्डललाई सम्मेलनको प्रतीक चिन्ह, पुष्पगुच्छा र दोसल्लाले सम्मान गरिएको प्रवक्ता सन्तोष पटेलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस् !