३१ चैत,बारा । वीरगञ्जमा शनिवार हनुमान जयन्तीको शोभा यात्राका क्रममा भएको हिंसात्मक झडपपछि लगाइएको कर्फ्यु आइतबार राति १२ बजेसम्म कायम राख्ने निर्णय भएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्सामा आइतबार बसेको सर्वपक्षीय बैठकले परिस्थितिको गम्भीर मूल्याङ्कन गर्दै कर्फ्युको अवधि लम्ब्याउने निर्णय गरेको हो । शनिवारको घटनाले साम्प्रदायिक तनावको जोखिम बढाएपछि प्रशासनले धार्मिक सद्भाव कायम राख्न र थप हिंसा रोक्न कर्फ्यु निरन्तर राख्ने निष्कर्ष निकालेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत दीपक पटेलले बताएअनुसार सर्वपक्षीय बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा, जनप्रतिनिधि र सुरक्षा निकायका उच्च अधिकारीहरूको सहभागिता थियो ।
बैठकमा शनिवार साँझ छपकैया क्षेत्रमा भएको झडपको विस्तृत समीक्षा गरिएको थियो । “जय श्रीराम” लेखिएको झन्डा खोस्ने प्रयास र इदगाह चोकमा भवनबाट ढुंगामुढा प्रहार भएपछि उत्पन्न विवादले हिंसात्मक रूप लिँदा सहरमा तनाव फैलिएको थियो । बैठकले यस्ता घटनाले धार्मिक सद्भावमा आँच पुग्न सक्ने भन्दै सबै समुदायलाई संयमित रहन र सामाजिक एकता कायम राख्न जोडदार अपिल गरेको छ ।
बैठकले सामाजिक सञ्जालमा फैलिएका भ्रामक भिडियो र अफवाहले तनाव थप बढाउन सक्ने ठहर गर्दै यस्ता सामग्रीमा विश्वास नगर्न र सेयर नगर्न समेत सचेत गराएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा आएका केही भिडियोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा भ्रामक प्रचारले सामाजिक सद्भाव भड्काउन सक्ने भन्दै सबैलाई जिम्मेवार बन्न आग्रह गरिएको छ
शनिवारको झडपमा कम्तीमा ४० जना घाइते भएका थिए । घाइतेहरूको नारायणी अस्पताल, गण्डक अस्पताल र अन्य निजी अस्पतालमा उपचार भइरहेको छ । इनर्वा क्षेत्रमा प्रहरीको गोली लागेर स्थानीय हरेन्द्र राउत अहिर घाइते भएका छन् ।
झडपका क्रममा दुई बिरयानी पसल, तीन मासु पसल, एक औषधि पसल र केही निजी घरमा तोडफोड भएको थियो । आक्रोशित भीडले आठ मोटरसाइकलमा आगजनी गर्दा लाखौँको सम्पत्ति नष्ट भएको प्रारम्भिक अनुमान छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले १३० राउन्ड अश्रुग्याँस र दुई राउन्ड हवाई फायर प्रहार गरेको थियो ।
कर्फ्यु उल्लङ्घन गरेको आरोपमा आइतबार बिहान १० बजेसम्म विभिन्न स्थानबाट ४० जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) किशोर लम्सालले बताए । उनले भने, “आइतबार बिहानदेखि निषेधित क्षेत्रमा कुनै विरोध सभा, हुलहुज्जत वा भेला भएको छैन । अवस्था सामान्य बन्दै गएको छ, तर पूर्ण शान्तिका लागि कर्फ्यु राति १२ बजेसम्म कायम राखिएको छ ।” कर्फ्यु क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त गस्तीले सुरक्षा व्यवस्था कडा पारिएको छ । सम्भावित झडप रोक्न संवेदनशील क्षेत्रमा प्रहरीको निगरानी थप सघन बनाइएको छ ।
कर्फ्युका कारण भारतको रक्सौल नाकाबाट नेपाल भित्रिने यात्रुहरू सीमा क्षेत्रमा अलपत्र परेका छन् । प्रशासनले उनीहरूलाई सिर्सिया, बलिरामपुर र गण्डक नहरको वैकल्पिक मार्ग प्रयोग गर्न सुझाएको छ । टिकट र पहिचान पत्र जाँचेर यात्रुहरूलाई गन्तव्यमा पुग्न सहजता प्रदान गरिएको छ । अत्यावश्यक सेवामा संलग्न सवारी साधनहरू जस्तै दमकल, एम्बुलेन्स, स्वास्थ्यकर्मी, खानेपानी आपूर्ति, फोहोर व्यवस्थापन, सरसफाइकर्मी र परीक्षा दिने विद्यार्थीलाई आवागमनमा कुनै अवरोध नगर्न प्रशासनले निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस् !