२१ फागुन,बारा । बाराको दक्षिणी सिमासंग जोडिएको सुवर्ण गाउँपालिकाको भ्रष्टाचारका नयां-नयां घटना बाहिरिदै जादा त्यहांका प्रमुख राजेश प्रसाद यादव र निमित्त प्रमुख प्रशासकिय अधिकृतबिचको ‘सेट्टिङ्ग’ बारे नयां खुलासा भएको छ।
प्राप्त जानकारी अनुसार स्वास्थ्यतर्फका छैठो तहका कर्मचारी सुजित कुमार यादवलाई पालिकाको निमित्त प्रमुख प्रशासकिय अधिकारी बनाई पालिका पमुख यादवले व्यापक भ्रष्टाचार गरिरहेको पाईएको छ।
सोहि पालिकाको वडा नं. ४ का वडाध्यक्ष झक्कड यादवको छोरा समेत रहेका कर्मचारी सुजित कुमार यादवलाई कार्यकारी प्रमुखको जिम्मा दिएर पालिका अध्यक्ष यादवले सेट्टिङ्गकै भरमा पालिकाबाट हुने बिकाश निर्माण देखि जिन्सी खरिदमा समेत भ्रष्टाचार गरिरहेका छन।
पालिकाकोलागि खरिद गरिने औषधी, फर्निचर, स्टेशनरी, छपाई मात्रै होईन, पत्रपत्रीकामा प्रकाशित हुने सुचनामा समेत कमिशनको खेल सुवर्णमा भइरहेको प्रमाणहरु फेला परेका छ्न। प्रमुख राजेश प्रसाद यादव, अधिकृत सुजित कुमार यादव र आईटी अफिसर मृगेन्द्र यादवको मिलिभगतमा त्यहांबाट प्रकाशित हुने सुचनाहरु छापिने मिडियामा नदिइ कमिशनकैलागी लागतभन्दा दोब्बर मूल्य तिरी कन्सल्टेन्सिको माध्यमले कलैया, बिरगंज र काठमाडौं लगायतका केही एजेन्टहरुको माध्यमले छपाईरहेको पाईएको छ। यसरी एजेन्ट मार्फत सुचना छपाउंदा पचास प्रतिशतसम्म कमिशन लिने गरिएको छ।
केहिदिन पहिला मात्रै संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अधिकृत यादवको ‘निमित्त’ भएर काम गर्ने अधिकार खोसेको थियो। तर केहिदिनमै पालिका प्रमुख यादवले ‘नजराना’ बुझाएर सुजित यादवलाई पुन:निमित्तको जिम्मेवारीमा फर्काएको छ।
केहिदिन अगाडि मात्रै पालिका प्रमुख यादवले लाखौ रकम भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसंधान आयोगको टोलिले छापा मारेको थियो। छापामारीको क्रममा प्रमुख यादवलाई करिब ३ घण्टा नियन्त्रणमा लिएको थियो भने उनले प्रयोग गर्ने २ थान मोबाईल र त्यसमा प्रयोग हुने ४ थान सिमकार्ड अहिले पनि अख्तियारको नियन्त्रणमा रहेको छ।
बढ्दो भ्रष्टाचारका समाचारहरु बाहिर आएपछी अख्तियारको टोलिले फागुन ५ गते कवहीगोठ स्थित पालिकाको कार्यालयमा छापा हानेको थियो। अध्यक्ष यादवको कलैया-४ स्थित गढिमाई दूध डेरिको खातामा अप्रत्याशित रुपमा लाखौं रकम विभिन्न व्यक्तिबाट ट्रान्सफर भएको सुचनाको आधारमा त्यसको छानबिन गर्न छापामारी गरिएको अख्तियारले जनाएको छ।
अख्तियारले गाउंपालिकाका ३ जना कर्मचारीलाई समेत नियन्त्रणमा लिएर छोडेको छ। नगर प्रहरी हवल्दार रोज महम्मद, जवान बिरभुषण प्रसाद यादव तथा गाउंपालिका अध्यक्ष यादवको नातामा भन्जा पर्ने वन हेरालु पदमा कार्यरत सुरेश प्रसाद यादवलाई नियन्त्रणमा लिएर जनही ५०-५० हजार रुपैया धरौटिमा छोडिएको छ। नियन्त्रणमा लिइएका तिनैजनाको खातामा पनि अप्रत्याशित रुपमा लाखौं रकम ट्रान्सफर भएर आएकोले त्यसबारे छानबिन गर्न उनिहरुलाई नियन्त्रणमा लिइएको जनाईएको छ। अहिले उनिहरुलाई बोलाएको बखत उपस्थित हुने शर्तमा छोडिएको छ।
यसअघि सुवर्ण गाउंपालिकामा व्यापक भ्रष्टाचार भइरहेको खबर संचारमाध्यममा आएका छ्न। लक्षितवर्गको लागि छुट्टयाईएको करोडौको बजेट टुक्रा पारेर २० देखि ५० प्रतिशत अग्रीम कमिशन लिई बिक्री बितरण गर्ने गरिएको आरोप समेत लागेको छ। योजना बिक्रीका साथै कर्मचारी भर्नामा व्यापक रकमी चलखेल भएको निवेदनको आधारमा अनुसंधान भइरहेको छ। अध्यक्ष राजेश यादवको प्रत्यक्ष संलग्नतामा भइरहेको योजना बिक्रीबितरण तथा कर्मचारी भर्ना बापत उठाईएको कमिशनका रकम उनको डेरि र कर्मचारीहरुको खातामा जम्मा गर्न लगाइएको आशंका व्यक्त गरिएको छ।
प्रतिक्रिया दिनुहोस् !