ईर्साद अन्सारी
१९ फागुन,बारा। सप्तरीको राजविराज नगरपालिका – ९ मलेठस्थित एक स्याउ गोदाममा गाँजा फेला परेको छ ।
गोदाम नजिकैको सडकबाट गइरहेका सप्तरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भोला दाहालले सडक छेउको गोदाममा एक ट्रकबाट अर्को ट्रकमा शङ्कास्पद सामग्री अनलोड गरिरहेको देखेपछि शङ्का लागि सोधी खोजी गरेका थिए ।
सिडिओ दाहालले गोदाम सञ्चालकलाई बोलाएपछि उनी आएनन् । त्यसपछि गोदाम फोडेर हेर्दा भित्र गाँजा फेला परेको हो । स्रोतका अनुसार गोदाम भित्र एक सयभन्दा बढी बोरामा गाँजा राखिएको थियो ।
गोदाम भित्र सिट नभएको एउटा स्कर्पियो पनि फेला परेको छ । गाँजासहित अवैध रूपमा भित्रिएको चिनी, सुर्ती लगायतका अन्य तस्करीका सामग्रीहरू पनि ठूलो मात्रामा बरामद गरिएकाे छ । अहिले उक्त गाेदाम रहेकाे घरमा ठुलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाल, सशस्त्र र अनुसन्धानका कर्मचारीहरूले गोदामको खानतलासी गरिरहेका छन्।
सिडिओ दाहालले गाँजासँगै गोदाममा अन्य वस्तुहरू रहेकोले यकिन गर्ने कार्य भइरहेको जानकारी दिए । स्रोतका अनुसार, प्रारम्भिक अनुमानका आधारमा गोदामबाट तीन हजार किलोभन्दा बढी गाँजा बरामद भएको छ । यद्यपि स्वतन्त्र रूपमा यसको पुष्टि हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस् !