३० कार्तिक,बारा। सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साहविरुद्ध भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।
आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिमा साहमाथि सार्वजनिक सम्पत्तिमा हानि–नोक्सानी पुर्याई भ्रष्टाचार गरेको आरोप लगाइएको छ। भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० अनुसार बिगो अठहत्तर हजार रुपैयाँ कायम गरी मुद्दा दायर गरिएको हो।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार विशेष अदालत काठमाडौँमा दायर गरिएको आरोपपत्रमा साहलाई कैद सजायका साथै बिगो रकम बमोजिम जरिवाना गराउन माग गरिएको छ।
साहमाथि भ्रष्टाचार निवारण ऐनको प्रावधानअनुसार कारबाहीको माग गर्दै विशेष अदालतमा कानूनी प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ।
प्रतिक्रिया दिनुहोस् !