१५ जेठ बिरगञ्ज /वीरगञ्ज कारागारका ३८ जना कैदीको सजाय मिनाहा भएको छ । १५ औँ गणतन्त्र दिवसको अवसरमा ३ महिलासहित ३८ जना कैदीको सजाय सरकारले मिनाहा गरिदिएको हो ।
कर्तव्य ज्यान मुद्दाका ३ महिलासहित २४ जना, सवारी ज्यान मुद्दाका ३, सरकारी किर्ते मुद्दाका २, चोरी मुद्दाका १, डाँका मुद्दाका २, बहुविवाहका २, काठचोरी मुद्दाका १, राहदानी चोरी मुद्दाका १, ज्यान मार्ने उद्योगका १ जना र कर्तव्य मुद्दाका १ जना गरी ३८ जना रिहा भएको वीरगञ्ज कारागारका प्रमुख जेलर कृष्ण गैरेले जानकारी दिए ।
गृह मन्त्रालयको प्रस्तावमा गणतन्त्र दिवसको अवसरमा मन्त्रिपरिषद्को बैठकले ५० प्रतिशत कैद सजाय भुक्तान गरीसकेका कैदीको बाँकी सजाय मिनाहा गर्ने निर्णय गरेपछि वीरगञ्जका ३८ जना रिहा भएका हुन् ।
लागुऔषध, भ्रष्टाचार, मानव तस्करी, सर्वस्वसहित जन्मकैद र चेलिबेटी बेचबिखनलगायत १९ प्रकारका मुद्दा बाहेक अन्य मुद्दामा असल चालचलन भएका, ५० प्रतिशत कैद भुक्तान भएका, मुद्दा अन्तिम भएकाहरुलाई रिहा गरिन्छ ।
जेलर गैरेका अनुसार हाल वीरगञ्ज कारागारमा ४८ जना महिलासहित १ हजार ३ सय २९ कैदीबन्दी विभिन्न मुद्दामा कैद सजाय भुक्तान गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस् !