२९ साउन, बारा । बारामा माछा खाएर बिरामी भएका एकै परिवारका तीनजना बालबालिकाको मृत्यु भएको छ ।
सिम्रौनगढ नगरपालिका- ७ झवानीटोलका नरेश रामका तीनजना छोराछोरीको मृत्यु भएको हो । उनका ९ वर्षीया छोरी लालिमा, ७ वर्षीया पुष्पा र ५ वर्षीय छोरा कृष्णनन्दन रामको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले डिएसपी जानकारी दिएकाे छ ।
प्रहरिका अनुसार आइतबार घर नजिककैको पोखरीबाट ल्याइएको माछा र भात खाएर सपरिवार सुतेका थिए । राति नै बालबालिकालाई पेट दुख्ने, बान्ता हुने र झाडापखाला लाग्ने समस्या भएर सिकिस्त बिरामी परेका थिए ।
सिम्रौनगढ स्वास्थ्य क्लिनिकमा उपचारको लागि भर्ना गरिएका उनीहरुलाई त्यहाँबाट प्रादेशिक अस्पताल कलैया ल्याइएकाे थियो । उपचारको लागि ल्याउदै गर्दा लालिमाको बाटोमै र पुष्पा र कृष्णनन्दको कलैया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरिले जनाएकाे छ ।
तीनै जनाको शवको सोमबार नै कलैया अस्पतालमा पोस्टमार्टम गरी परिवारजनलाई बुझाएको प्रहरीले जनाएको छ ।
माछा विषाक्त भएका कारण उनीहरू बिरामी परेको प्रहरीको आशंका छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको बारा प्रहरी प्रबक्ता डिएसपी प्रकाश सापकोटाले बताए ।
प्रतिक्रिया दिनुहोस् !