७ साउन,काठमाण्डाैं । यातायात व्यवस्था विभागको सर्भर डाउन भएको छ । विभागको सवारी चालक अनुमतिपत्रको सेवा प्रवाहसम्बन्धी विद्युतीय प्रणालीमा समस्या आएको हो ।
केन्द्रीय सर्भर डाउन भएसँगै देशभरका यातायात कार्यालयहरुको काम प्रभावित भएको छ । विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले सर्भरमा देखिएको समस्या समाधान गर्ने प्रयास भइरहेको जानकारी दिए ।
उनका अनुसार हिजोदेखि नै सर्भरमा समस्या आएको हो । सूचना अधिकारी पनेरुले भने, ‘विभागमा सर्भर डाउन हुँदा देशभरका यातायात कार्यालयमा पनि समस्या आउने गरेको छ । हाल प्राविधिकको सहायतामा समाधानको प्रयास भइरहेको छ । तर, कति समय लाग्छ भनेर भन्न सकिँदैन ।’
सर्भरमा समस्या आएपछि सेवाग्राही मर्कामा परेका छन् । बायोमेट्रिक दर्ता, लाइसेन्स नवीकरण, राजस्व दाखिलालगायतका काम ठप्प भएका छन् ।
प्रतिक्रिया दिनुहोस् !