आमबुझाई छ– पत्रकारको काम अरूलाई प्रश्न गर्ने, अरुको कुरा सुन्ने र जस्ताको तस्तै जनतामाझ पुर्याउने पनि हो । भनिन्छ– ‘प्रश्न नगर्ने पत्रकार हुँदैन । प्रश्नविनाको पत्रकारिता हुँदैन । पत्रकारले जुन दिन प्रश्न गर्न छाड्छन्, न उनीहरू पत्रकार रहन्छन्, न त पत्रकारिता नै रहन्छ ।’
जब पत्रकारका प्रश्न हलुका हुन्छ । लोकतन्त्र पनि हलुका हुँदै जान्छ । छिमेकी देश भारतलाई हेर्दा पनि यो पुष्टि हुन्छ । सरकारको स्थायी प्रतिपक्षी रुपमा हेरिने आमसञ्चारमाध्यम सरकारको बखानमा लिप्त देखिन्छन् । त्यस्ता सञ्चारमाध्यमले ‘गोदी मिडिया’ उपनाम पाएका छन् ।
सरकार र सम्बन्धित निकायलाई पत्रकारले मात्र प्रश्न गर्न पाउँछन् भन्ने होइन । हरेक नागरिकले प्रश्न गर्न पाउँछन् । तर, ‘पत्रकारले प्रश्न गर्नुपर्छ’ हाम्रो परम्परागत बुझाई छ । अरुको भन्दा पत्रकारको पहुँच बढी हुन्छ । प्रश्न सोध्ने उसको मुख्य पेसा पनि हो, त्यसैले पत्रकारले बढी प्रश्न गर्ने गरेका छन् ।
तर, हरेक कुराको एउटा सीमा हुन्छ । प्रश्नको पनि कहाँ सोध्ने ? के सोध्ने ? कसलाई सोध्ने ? कसरी सोध्ने ? भन्ने हुन्छ । प्रश्न के हो वा होइन, बहस गर्न सकिन्छ । तर, पछिल्लो समय ठाउँ न कुठाउँ माइक तेर्साएर प्रश्न सोध्ने आतंक छाएको छ । यो पत्रकारिताको कर्म, धर्म र मर्मविपरित छ ।
अहिले सामाजिक सञ्जाल न्यू मिडियाका रुपमा विकास भएको छ । यसैबाट सूचना लिने प्रचलन बढ्दो छ । सूचना पाउनका लागि मूलधारका मिडिया मात्रै खोज्ने परिपाटीको अन्त्य भएको छ । तर, पत्रकारिता र युट्युवकारितामा फरक छुटाउन नसक्दा पत्रकारले गाली खानु परेको छ । पत्रकारिता पेसाको विश्वसनीयता र इज्जत खस्केको छ ।
कतिपय सार्वजनिक कार्यक्रमहरूमा समेत व्यवसायीक पत्रकारभन्दा युट्युबवर नै अघि पुग्छन् । पत्रकारका क्यामेराका अगाडि उनीरूका क्यामेरा हावी भइरहेका हुन्छन् । यसले व्यवसायीक पत्रकारलाई नियमित रिपोर्टिङमा समेत समस्या बनाउँदै लगेको छ । तर, कसैकसैले युट्युबमा टीभीले भन्दा राम्रो सामग्री पनि उत्पादन गर्ने गरेका छन् । जस्तै– ‘हेर्न कथा ।’
युट्युबवालाको दबदबा समाजमा बढ्दो छ । सबैतिर युट्युबकै चर्चा हुन्छ । राम्रो चलेका युट्युबवरको क्रेज बढ्दो छ । व्यवसायीक पत्रकारको भन्दा उनीहरूको लोकप्रियता छ । युट्युबको काम सस्तो लोकप्रियताक भइरहेको छ । युट्युबवरले गरेको गल्तीको सजाय पत्रकारले भोग्नु परिरहेको छ । उनीहरूकै कारण पत्रकारिता बदनाम भइरहेको हुन्छ ।
युट्युबलाई नियमन गर्ने कानुन नहुँदा पत्रकारिता बदनाम भइरहेको छ । युट्युबको सामग्री हेरेर पत्रकारलाई गाली गरिरहेका छन् । युट्युब आतंकले पत्रकारितालाई समस्यामा पारेको छ । कुनै मूलधारको मिडियाका पाठक, श्रोता, दर्शकभन्दा युट्युबका दर्शक बढी छन् । यसले गर्दा समाज कस्ता घटना र सूचनाको पछि दौडिरहेको छ भन्ने चित्रण गर्छ । समाज हल्लाकै पछि दौडिरहेको छ भन्ने यसबाट पुष्टि हुन्छ ।दृष्टी
प्रतिक्रिया दिनुहोस् !