बारामा सशस्त्र प्रहरीको एकजना वरिष्ठ हवलदार सहित चारजना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालतले सशस्त्र प्रहरीको बर्दिबास स्थित छिन्नमस्ता बाहिनीका चारजना विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । ईलाका प्रहरी कार्यालय सिम्रौनगढको माग बमोजिम सशस्त्र प्रहरीको डीआईजी गणेश ठाडा मगरका घुमुवा सशस्त्र प्रहरी वरिष्ठ हवलदार अशोक साह सोनार, सहायक हवलदार आत्माराम पटेल, सहायक हवलदार रत्नसागर झा र सशस्त्र प्रहरी जवान सुनिल कुमार यादव विरुद्ध पक्राउ पुर्जी जारी गरिएको जिल्ला अदालतले जनाएको छ । पैसा दिएर भारतबाट हतियार मगाएर दुईजना भारतीयलाई सशस्त्र प्रहरीले पक्राउ गरेको आरोपमा अनुसन्धान गर्न सशस्त्र प्रहरीको चारजना विरुद्ध पक्राउ पुर्जी जारी गरिएको जिल्ला अदालतका श्रेस्तेदार नवराज जोशीले बताउनु भयो । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले हतियार काण्डमा नाम मुछिएपछी सशस्त्र प्रहरीका चारजनालाई बोलाएर एकपल्ट बयान लिएर हाजिरी जमानतमा छोडिएको बताउनु भयो । सशस्त्र प्रहरीका चारजना घुमुवाले भारतीय नागरिक लालबाबु कुश्वाहालाई पैसा दिएर हतियार खरिद गराई दुईजना भारतीयलाईनेपाल बोलाएर हतियार सहित पक्राउ गरेको बयानबाट खुलेपछि उनीहरु विरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीले गएको बैशाख २३ गते भारतको पुर्वी चम्पारणको लौखानका २३ बर्षीय पप्पु कुमार यादव र अखिलेश कुमार सिंहलाई सिम्रौनगढ नगरपालिका-१० बाट बी आर ०१ सी १३६१ नम्बरको मोटरसाइकलमा सवार रहेको अवस्थामा दुई थान पेस्तोल र चार राउन्ड गोली सहित पक्राउ गरेको थियो । पक्राउ परेका दुबैजना भारतीय युवकलाई सशस्त्र प्रहरीका घुमुवाले हतियार खरिदगर्न पैसा दिएका भारतीय नागरिक लालबाबु कुश्वाहाले पठाएको बयानबाट खुलेको प्रहरी स्रोतले जनाएको छ। सशस्त्र प्रहरी नायब महानिरीक्षक डीआईजी गणेश ठाडा मगरले सशस्त्र प्रहरीका घुमुवा र हतियार सहित पक्राउ परेका भारतीय व्यक्तिहरुको मोबाइल कलको विवरण ननिकाल्न र बयान फेर्न दबाब दिईरहेको स्रोतले दाबी गरेको छ ।
प्रतिक्रिया दिनुहोस् !