२८ जेठ, बारा । जिल्ला प्रहरी कार्यालय बाराले १२२ किलो प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ । बाराका विभिन्न स्थानबाट प्रहरीले ठूलो मात्रामा गाँजा बरामद गरेको हो । ईलाका प्रहरी कार्यालय अमलेखगञ्ज बाराबाट खटिएको टोलीले ८० किलो गाँजा बरामद गरेको हो ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगञ्जमा चेकजाँच गर्दा मकवानपुरको मनहरीबाट पथलैयातर्फ आउँदै गरेको बा १० च ३६१९ नम्बरको कार शंकास्पद लागेपछि चेकजाँच गरिएको बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । उनकाअनुसार कारको पछाडीको डिक्कीमा लुकाईछिपाई राखिएको अवस्थामा ८० किलो गाँजा भेटिएको हो ।
गाँजासहित कार चालक चितवनको राप्ती नगरपालिका वडा नम्बर १० रिकाटार बस्ने २५ वर्षीय मान बहादुर वाईवा र कारमा सवार मकवानपुरको राक्सीराङ् गाउँपालिका वडा नम्बर ५ बस्ने २६ वर्षीय सुमन स्याङताङलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए ।
त्यस्तै ईलाका प्रहरी कार्यालय सिम्रौनगढ र प्रहरी चौकी श्रीनगर बैरिया बाराबाट खटिएको सयुँक्त टोलीले १० किलो गाँजा बरामद गरेको छ । नयकाटोलाबाट भारततर्फ जाँदै गरेको बिआर ०५ सि ७०५४ नम्बरको भारतीय हिरोहोण्डा मोटरसाइकललाई बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर १ हनुमान चौकमा चेकजाँच गर्दा गाँजा भेटिएको हो । प्रहरीलाई देख्नेबित्तिकै गाँजा फालेर व्यक्ती फरार भएको उनले बताए । गाँजा र मोटरसाइकल भने नियन्त्रणमा लिइएको छ ।
प्रहरी चौकी पथलैयाले पनि ३२ किलो गाँजा बरामद गरेको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोकमा चेकजाँचको क्रममा हेटौडाबाट पथलैयातर्फ आउँदै गरेको प्र.०३–००२ प ५८५४ नम्बरको मोटरसाइकल प्रहरीलाई देखेपछि व्यक्तिहरु फरार भएका थिए । शंका लागेपछि चेकजाँच गर्दा मोटरसाइकल पछाडी बाँधेर राखेको झोलाबाट ३२ किलो गाँजा फेला परेको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस् !