जबर्जस्ती करणी अभियोगमा फरार भएका मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा कार्यरत उपसचिव रूपेशकुमार साहले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।
सिरहाको बरियारपटी गाउँपालिका–४ तेनुवापट्टी निवासी साहले गत वैशाख ७ गतेदेखि फरार थिए।
उनले शनिबार प्रहरी कार्यालयमै आएर समर्पण गरेका हुन्। तर घटनाबारे अनुसन्धान जारी रहेको भन्दै प्रहरीले यसबारे केही बोल्न मानेको छैन।
मधेस भवनस्थित सरकारी कर्मचारी क्वार्टरमा गत माघ १८ गते राति साढे १० बजेतिर उपसचिव साहले ‘भगवानको प्रसाद’ भन्दै पेडामा नशालु पदार्थ मिसाएर खान दिएको र बेहोस भएपछि बलात्कार गरेको पीडित महिलाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ।
त्यो राति मेरो श्रीमान बाहिर जानुभएको थियो। प्रसाद खुवाए र म अचेत भएपछि साहले करणी गरे,’ पीडितले प्रहरीमा दिएको उजुरीमा भनेकी छन्, ‘मुख्यमन्त्री कार्यालयमा सँगै काम गरिरहेकाले मेरो श्रीमानको साथीको नाताले रातको समयमा उपसचिव साह टेलिभिजन हेर्न पहिला पनि आउने-जाने गरिरहेका थिए। श्रीमानका साथी र कार्यालयमा सिनियर भएकाले साहलाई सम्मान पनि गर्थेँ।’
श्रीमान घर (गाउँ) गएको मौका छोपेर, पीडित महिला एक्लै भएको बेला राति उनको कोठामा प्रवेश गरेर प्रसाद दिएपछि खाएको र बेहोस भएको ती महिलाको दाबी छ।
होसमा आउँदा त मेरो सर्वस्व लुटिइसकेको थियो,’ जाहेरीमा भनिएको छ।
उपसचिव साहले जबर्जस्ती करणी गरेको भिडिओ र तस्बिर देखाएर पछि पनि कयौंपटक करणी गरेको पीडितको दाबी छ।
एसिड हालेर अनुहार बिगारिदिने र ज्यान मार्नेसम्मको धम्की दिन थालेपछि उसको ज्यादती सहन बाध्य भएँ। जबर्जस्ती करणीले गर्भमा बच्चासमेत बसेको छ। त्यो बच्चा फाल्नुपर्यो भन्दै दबाब दिएपछि श्रीमानलाई सबै जानकारी गराएँ। अनि, न्यायका लागि उजुरी गरेकी हुँ,’ ती महिलाले भनेकी छिन्।
यस विषयलाई लिएर उपसचिव साह र पीडितका श्रीमानबीच सरकारी निवासमै कुटाकुटसमेत भएको थियो। मधेस भवनमै कयौंपटक झगडा र कुटाकुट भएपछि उपसचिव साह बिदामा बसेका थिए। बिदामै बसेको बेला उनीविरूद्ध धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। त्यसयता उनी फरार भएका थिए।सेताेपाटी
प्रतिक्रिया दिनुहोस् !