१४ जेठ,काठमाण्डाै । नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनले पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ ।
सदस्यता शुद्धीकरणका नाममा गैर पत्रकारलाई सदस्य बनाएकोप्रति असन्तुष्टि जनाउँदै सो संगठनले आज सञ्चारग्रामस्थित महासंघ कार्यालयको मूलगेटमा ताला लगाएको हो । गत जेठ ८ गतेको सहमतिविपरित सदस्यताको नामावली प्रकाशन भएको दाबी गर्दै अध्यक्ष विश्वमणि सुवेदीले त्यसलाई सच्याउन मागसहित तालाबन्दी गरेको बताए ।
महासंघको आगामी जेठ २६ गते हुने निर्वाचनलाई प्रभावित गर्नेगरी छापामार शैलीमा सदस्यता टुंगो लगाइएको बताउँदै उनले यसलाई न्यायोचित ढंगले नसच्याए निर्वाचनका कार्यक्रम अघि बढ्न नदिने चेतावनीसमेत दिएका छन् ।
गैर पत्रकारहरुलाई सदस्यता दिने काम,सदस्यता सूचिमा राख्ने काम भयो । र त्यसमा हामीले आपत्ति जनायौं । नेपाल पत्रकार महासंघको वैधानिक प्रावधान,वैधानिक अभ्यासअनुसार सदस्यताको उत्पति हुने र अन्त्य हुने दुवै कुरा जिल्ला शाखासँग निहित छ’,अध्यक्ष सुवेदीले भने, ‘प्रदेश र केन्द्रले अनुगमन मात्रै गर्ने हो । जिल्ला शाखाहरुले सिफारिस गरेका सदस्यहरु केन्द्रबाट सिधै हटाउने काम भएको छ । प्रदेशबाट हटाउने काम भएको छ ।’
महासंघको शुद्धिकरण अभियानअन्तर्गत जिल्ला शाखाहरुले हटाउन सिफारिस गरेका नाम केन्द्र र प्रदेशबाट यथावत राखिएको समाजवादी प्रेस संगठनको दाबी छ । निर्वाचनको नतिजा आफू अनुकूल पार्न गैर पत्रकारहरुको संख्या बढी राखिएको पनि सुवेदीले बताए
प्रतिक्रिया दिनुहोस् !