२२ बैसाख,काठमाडौं । ट्वान्टी–२० खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपाललाई १७३ रनको लक्ष्य दिएको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७२ रन बनाएको हो ।
वेस्ट इन्डिजका एलिक एथानाजेले सर्वाधिक ४२ रन बनाए । उनले २९ बलमा एक चौका र तीन छक्का प्रहार गरे । कप्तान रोस्टन चेजले २३ बलमा पाँच चौकासहित ३३ रन बनाए । जोन्सन चार्ल्सले २४ र म्याथ्यु फोर्डेले २३ रन बनाउँदा मार्क डेयल र कदिम अलेयनेले समान ११ रन थपे ।
नेपालका सोमपाल कामी र सागर ढकालले समान तीन विकेट लिए । किफायती बनेका सोमपालले चार ओभरमा १६ रनमात्र खर्चिए । यसबाहेक, अभिनाश बोहराले एक विकेट लिए ।
यसअघि शृंखलाका चार खेलमध्ये तीन खेलमा जित निकाल्दै वेस्ट इन्डिज प्रतियोगिताको च्याम्पियन बनिसकेको छ । पहिलो खेलमा नेपालले चार विकेटले विजयी भए पनि त्यसपछि वेस्ट इन्डिजले १० रन, ७६ रन र २८ रनको जित निकालेको थियो ।
प्रतिक्रिया दिनुहोस् !