१३ वैशाख, काठमाडौं । क्यानडा पठाउने भन्दै दुबई पुर्याएर एक युवतीलाई बेचबिखन गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका–३ घर भएका फिरोज खान भनेर चिनिने २६ वर्षीय फरमान हवारी छन् ।
उनलाई मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोको टोलीले बुधबार नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ गरेको हो ।
टिकटकको माध्यमबाट चिनजान भएकी युवतीलाई उनले २ पुस २०८० मा क्यानडा पठाउने भन्दै दुबई पुर्याएर बेचबिखन गरेको ब्यूरोका एसपी तथा प्रवक्ता ज्ञानेन्द्र फुयालले बताए । दुबई पुर्याएर राहदानी लगायतका कागजात नियन्त्रणमा लिएर बन्धक बनाइएको आरोप उनीमाथि छ ।
दुबईमा बन्धक भएकी युवती आफन्तको सहयोगमा ३० चैत २०८० मा नेपाल फर्किन सफल भएकी थिइन् । पक्राउ परेका फिरोजविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
आफूले धरैलाई क्यानडा पठाएको र जानका लागि ३० लाख लाग्ने भन्दै फिरोजले युवतीलाई प्रलोभनमा पारेर बेचबिखन गरेको आरोप छ । बिहे गर्नेसम्मको प्रलोभन देखाएर पटक–पटक यौन शोषणसमेत गरेको भन्दै युवतीले प्रहरीमा जाहेरी दिएकी थिइन् । क्यानडा पठाउने भनेर उनले युवतीसँग ११ लाख २८ हजार रुपैयाँ लगेका थिए ।
प्रतिक्रिया दिनुहोस् !