४ चैत, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई तत्काल कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् ।
मेयर सिंह नागरिकता किर्तेमा मुछिँदै आएका छन् । गृह मन्त्रालयको छानबिन समितिले यसअघि नै अध्ययन सकेर मन्त्रीलाई प्रतिवेदन बुझाइसकेको थियो तर कारबाही प्रक्रिया अघि बढेको थिएन ।
नक्कली छोरी बनाएर किर्ते नागरिकता दिलाएका मेयर सिंहले समितिको बयानमा रिता भट्टराईलाई आफ्नो दोस्रो श्रीमती भएको बयान दिएका थिए।
भट्टराईकी छोरी रुबिनाको जन्मदर्तामा हस्ताक्षर गरेका स्थानीय पञ्जीकरण भिखारी रायले आफ्नो नाम र हस्ताक्षर किर्ते गरेर जन्मदर्ता प्रमाणपत्र बनाएको पाइएको बताएका छन् ।
पदबाट जोगिन मेयर सिंहले गृह मन्त्रालय समक्ष दिएको बयानको २४ घण्टा नबित्दै दोस्रो भनिएकी श्रीमती रिता भट्टराईलाई अंश र डिभोर्स मुद्दा दिन पनि लगाएका थिए ।
किर्ते गरी हुँदै नभएको छोरीलाई नागरिकता दिलाएका मेयर सिंहले किर्ते कागजात मार्फत २०७१ माघ २० गते तत्कालीन वीरगन्ज उप–महानगरपालिका कार्यालयबाट जन्मदर्ताको प्रमाणपत्र बनाएको पाइएको छ।
प्रतिक्रिया दिनुहोस् !