३ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेलाई आफ्नो पार्टीको सास बास्ना आउन थालेको टिप्पणी गरेका छन् । काभ्रेको जिल्ला अधिवेशनलाई उद्घाटन गर्दै हिजोको राजनीतिक कटुतालाई भूलेर अघि बढ्ने बताए ।
उनले भने, ‘अहिले फेरि हिजो एमाले एकीकृत समाजवादी भएको ठाउँमा बस्नै नसक्ने, सासै गनाउने स्थिति थियो । अहिले बास्ना आउन थालेको छ । त्यस्तो हुन्छ । कटुता भएको बेलामा मन पर्दैन । अविश्वास बढेको बेलामा शंका हुन्छ । तर, तपाईंहरुले सुन्नुभएकै छ राजनीतिमा कहिलेपनि स्थायी शत्रु हुँदैन । मित्र पनि हुँदैन । यो कुरालाई ध्यान गर्नुपर्छ ।’
उनले अहिले एकीकृत समाजवादी एमालेमा मिल्ने भनेर भएको हल्ला सत्यता नभएको जिकिर गरे ।
उनले थपे, ‘हाम्रो पार्टी कुनै पार्टीसँग मिल्न गइरहेको छैन । हाम्रो पार्टीको आफ्नै विचार र धारणा छन् । नेपालको राजनीतिमा हाम्रो छुट्टै पहिचान, अस्तित्व र भूमिका छन् त्यसलाई अरुले बुझ्दैछन् । अब हामी सबै वामपन्थी लोकतान्त्रिक शक्तिहरुलाई समेटेर अघि बढ्न चाहन्छौं । यो साझा उद्देश्यका लागि एउटै गठबन्धनमा बसेर होस् वा अलगअलग मोर्चामा बसेको अवस्था होस् उद्देश्यलाई बिर्सन हुँदैन ।’
उनले देश फेरि निर्वाचनमा नजाओस् भन्ने चाहेर नयाँ समीकरणमा सहभागी भएको बताए । प्रचण्डसँग ४० र ओलीसँग ५० वर्षको सम्बन्ध रहेको बताउँदै पुराना कुरा बिर्सेर नयाँ ठाउँमा जाने तयार भएको बताए ।
उनले भने, ‘तत्कालीन एमाले बहुमतको अवस्थामा पुग्यो। माओवादीसहित झण्डै दुई तिहाइको अवस्थामा पुगेको थियो । हामीले ०७४ सालमा ल्याएको सीट अहिले तीनवटा पार्टीको सीट पुग्दैन ।
०७४ सालमा जनताले भोट दिए ०७९ मा किन दिएनन् ? त्यो प्रत्येक पार्टीले तुलना गर्नुपर्छ। कहाँ भयो त्रृटी ? कहाँ भयो कमजोरी ? झण्डै दुई तिहाइ भएको बेलामा सरकार गठन गरेको बेलामा हामीले राम्रो काम गर्यौं कि गरेनौं । पार्टी कसरी चलायौं यी कुराहरु पनि समीक्षा गर्नुपर्ने विषय छँदैछ ।’
प्रतिक्रिया दिनुहोस् !