२८ फागुन,काठमांडाै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कमिटीको बैठक सोमबार बस्दैछ।केन्द्रीय कमिटीको बैठक आज मध्याह्न साढे १२ बजे पार्टी कार्यालय चःमतिमा बस्ने महामन्त्री मुकुल ढकालले जानकारी दिए।
उनका अनुसार उपनिर्वाचनका लागि दल दर्ता र इलाम क्षेत्र नम्बर २ को निर्वाचनको तयारीका लागि रास्वपाको केन्द्रीय कमिटीको बैठक बोलाइएको हो।
यसपटक धेरै कार्यसूची छैनन्। उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नुपर्नेछ। त्यस्तै, उपनिर्वाचनको तयारीका लागि पनि छलफल गनुपर्नेछ,’ महामन्त्री ढकालले भने।
आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुँदैछ। त्यस्तै, प्रदेश सभातर्फ बझाङ—१ मा पनि उपनिर्वाचन हुँदैछ। यसअघिको निर्वाचनमा रास्वपाले प्रदेश सभातर्फ दल दर्ता गरेको थिएन।
प्रतिनिधि सभाको निर्वाचनका लागि भने रास्वपाले पार्टी कमिटी परिचालन गरिसकेको छ। यसअघि बसेको सचिवालय बैठकले इलाम क्षेत्र नम्बर २ को चुनावी कमान्डरका रूपमा पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई पठाउने निर्णय गरिसकेको छ।
पछिल्लो गठबन्धन र सरकारमा सहभागी भएकोबारे पनि केन्द्रीय कमिटीका छलफल हुने रास्वपाले बताएको छ।
प्रतिक्रिया दिनुहोस् !