२२ फागुन,बारा । मोरङमा एक किशोरीको हत्या भएको छ।
पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ७ लामा टोलकी १५ वर्षीया ज्ञानमती फुलुङ राईको हत्या भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एवं एसपी नवराज कार्कीले जानकारी दिए।
सोमबार राति साढे १० बजे ज्ञानमती आफ्नै घरको पछाडि रहेको शौचालयमा गएकी थिइन्।
त्यतिबेला कुनै अपरिचित व्यक्तिले टाउकोमा धारिलो हतियार प्रहार गरी फरार भएको प्रहरीले जनाएको छ।
उक्त खबरपछि एसपी कार्कीसहितको टोली घटनास्थलमा खटिएका थिए। धरानबाट तालिमप्राप्त कुकुरको टोली पनि खटिएको थियो।
मंगलबार बिहान साढे ८ बजे कानुनी प्रक्रिया पूरा गरी शव पोष्टमर्टमको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ।
प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ।
प्रतिक्रिया दिनुहोस् !