२१ फागुन,बारा । बारामा प्रहरीले हुण्डी कारोबार गर्ने गिरोहमा संलग्न तीन भारतीय र दुई नेपाली गरि पाँच जनालाई नगद २१ लाख ९ हजार नेपाली रुपैयासहित पक्राउ गरि सोमबार सार्वजनिक गरेको छ ।
फागुन १८ गते जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित अस्पताल रोडबाट अवैध रुपमा भारतबाट नेपाली रुपेयाँ ल्याउदै गरेको अववस्थामा भारत बिहारका रन्जित सर्राफलाई पक्राउ गरेको थियो । उनको साथबाट नगद पाँच लाख रुपैयाँपनि प्रहरीले बरामद गरेको थियो ।
अनुसन्धानका क्रममा सर्राफले नेपाली र भारतीयसंग मिलेर संगठित रुपमै हु्ण्डीको धन्दा चलाएको खुलेपछि त्यसमा संलग्न अरु चार जनालाई पनि थप १६ लाख ९ हजार रुपैयाँ नगदसहित पक्राउ गरिएको बाराका प्रहरी उपरक्षिक सुरेश काफलेले जानकारी दिए।सर्राफसहित कलैया उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको आसिफ मनि चेञ्जरका सञ्चालकद्वय कलैया ७ घर भएका कलामुदिन अन्सारी र महागढीमाई नगरपालिका १ का मेराजुल अन्सारीलाई फागनु १८ गतेनै पक्राउ गरिएको काफलेले बताए ।
अन्य दुई भारतीय नागरिकलाई भने फागुन २० गते भारतबाट हुण्डीको रकम ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।
फागुन २० गते बाराको विश्रामपुर गाँउपालिका वडा नम्बर १ छतवाबाट भारत बिहारको मोतिहारीका ४२ बर्षिय कृष्णलाल प्रसाद यादव र ४० बर्षिय रविशंकर सिंहलाई नेपाली १६ लाख ९ हजार रुपैयाँसहित पक्राउ गरेको उनले बताए ।
पक्राउ परेका पाँचै जना कलैयामा अन्सारीद्वयले इजाजत विना सञ्चालन गरेको मनि चेञ्जरमार्फत हुण्डीको कारोबार गर्ने गिरोहमा संलग्न व्याक्तिहरु रहेको अनुसन्धानका क्रममा खुलेको प्रहरी उपरीक्षक काफलेले बताए ।
काफलेका अनुसार, पक्राउ परेको गिरोहले खाडी लगायतका मुलुकमा रहेका नेपालीहरुले कमाएको रकम संकलन गरी भारत पठाएर त्यहाँबाट अवैध रुपमा नेपाल भित्रयाउने गरेको थियो ।
बारामा मात्रै यो गिरोहले हुण्डी मार्फत मासिक तीनदेखि चार करोड रुपैयाँको अवैध कारोबार गर्दै आएको काफलेले बताए । यो गिरोहमा अन्य व्याक्तिहरुकोपनि संलग्नता रहेको भन्दैै प्रहरी उपरीक्षक काफलेले यसबारेमा थप अनुसन्धान भइरहेको बताए ।
प्रतिक्रिया दिनुहोस् !