कास्की — पोखरा महानगरको मेयर र उपमेयर उम्मेदवार छान्नका लागि एमालेले आन्तरिक निर्वाचन गर्ने भएको छ । शुक्रबार दिउँसो एक बजेटबाट मतदान सुरु गरिने मेयरका आकांक्षी एवं गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले जानकारी दिए ।
केहीबेरअघि मात्रै मनोनयन दर्ता सकिएको छ । मेयरको लागि १२ जना र उपमेयरका लागि ९ जना आकांक्षी देखिएका छन् । निर्वाचन अधिकृतको जिम्मेवारीमा कमल अर्याल रहेका छन् ।
निर्वाचन एमाले पार्टी कार्यालयमा नै हुनेछ । पोखरा महानगर कमिटीमा १ सय १० सदस्य छन् । उनीहरुले नै मतदान गर्नेछन् । मेयर र उपमेयरको नाम सिफारिस गर्ने प्रयोजनका लागि गठित निर्वाचन कमिटीले पार्टीको विधान तथा निर्वाचन नियमावली (संशोधनसहित) २०६९ को अधिनमा रहेर निर्वाचन हुने जनाइएको छ ।
मेयरका लागि केन्द्रीय सदस्यहरु मीनाकुमारी गुरुङ, भीम कार्की, कृष्णबहादुर थापा, राजीव पहारी र प्रदेश उपसचिव रश्मि आचार्य, प्राडा विश्वकल्याण पराजुली, पोखरा १३ का वडाध्यक्ष दर्शन लामा, नेताहरु पुष्पज्योति दुंगाना, पुष्पराज अधिकारी, दीपक पौडेल, बालसिंह काउछा मगर र सावित्री भण्डारी आकांक्षी छन् ।
प्रतिक्रिया दिनुहोस् !