१९ पुस रौतहट । मुक्त हरवाचरवाको न्यायिक पु्नःस्र्थापना हाम्रो सरोकार । शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा हाम्रो अधिकार ।। भन्ने मुल नाराका साथ जिल्ला हरवाचरवा अधिकार मञ्च रौतहटको दोश्रो जिल्ला सम्मेलन रौतहटको गरुडामा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथी एवं जिल्ला भूमि आयोग रौतहटका अध्यक्ष लक्ष्मण रेग्मीले कृषि बधुवा मजदुर दाशप्रथाको अवशेषको रुपमा रहेका हरवाचरवा भूमिहिन रहेकोले सो समस्या सामाधानका लागि आयोगले कामको थालनी गरिरहेको कुरा बताउनुभयो ।
साथै उहाँले हरवाचरवाको शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा सुनिश्चित गर्ने उत्तरदायित्व राज्यको भएकोले स्थानिय, प्रदेश र संघीय सरकारले मुक्त हरवाचरवाको न्यायिक पुनस्र्थापनका लागि कार्ययोजना निर्माण गरि त्यसको प्रभावकारी कार्यान्वयनको आवश्यकता रहेको कुरा औल्याउनुभयो ।
कार्यक्रमका बिशीष्ट अतिथी राष्ट्रिय दलित नेटवर्क नेपालका केन्द्रीय अध्यक्ष एवं उच्च स्तरीय भूमि आयोगका पुर्वसदस्य गणेश बिश्वकर्माले मुक्त हरवाचरवाको नेपाल सरकार द्वारा २०७९ श्रावण २ गते तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउबाद्वारा गरिएको हरवाचरवा मुक्तिको घोषणालाई कार्यान्वयन गरि पुनःस्थापनाको सार्थक प्याकेज घोषणा गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
साथै उहाँले मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमा समेत उल्लेख भएको हरवाचरवा पुनःस्र्थापनाका लागी तत्काल तथ्यांक संकलन गरि परिचयपत्र वितरण गरिनुपर्ने, राष्ट्रिय भूमि आयोग समक्ष मुक्त घोषित हरवाचरवाको लागि कम्तीमा १० कठ्ठा जमीन दिने गरि पहिचान गर्न गरिनुपर्ने र हरवाचरवा पुनस्र्थापनाको लागि प्रदेश सरकार भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय समक्ष अधिकार सम्पन्न हरवाचरवा पुनस्र्थापना समिति गठन गरिनुपर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रमको उदघाटन सत्रमा भूमि आयोग कैलालीका सदस्य पार्वती आग्री, माधवनारायण नगरपालिका वडा नं. ३ का वडाअध्यक्ष राजकुमार यादव, द फ्रिडम फण्डका जनवकालत सल्लाहकार बालाराम भट्टराई, कार्यक्रम सल्लाहकार ब्रहमदेव राम, राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका सहसचिव रामदयाल माँझी, भूमि अधिकार मञ्च मधेशप्रदेश सचिव अनुप माँझी, महिला अधिकारकर्मी किरन पाशवान लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
जिल्ला हरवाचरवा अधिकार मञ्चका अध्यक्ष बिगनेश पाशवानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष शान्ती रामले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन जिल्ला हरवाचरवा एक्टीभीष्ट शुब्वासाहेव कुमार हजारीले गर्नुभएको थियो ।
सम्मेलनले दशरथ रामको अध्यक्षतामा १३ सदस्यीय जिल्ला हरवाचरवा अधिकार मञ्च रौतहट गठन गरेको छ । जसको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमसः किसमतीयादेवी पासवान, सुनिल पाशवान, शान्ती राम र डिकाकुमारी ठाकुर चयन हुनु भएको छ ।
त्यसैगरी मञ्चको सदस्यहरुमा उपेन्द्र दाश, खुब्बु पाशवान, गोलीयादेवी राम, सचितानन्द राम, मालती चौधरी, रामसुधार पासवान र धरमशिलादेवी राम रहनु भएको छ ।
प्रतिक्रिया दिनुहोस् !