८ मंसिर,काठमाडौं । गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईँको नागरिक बचाऊ अभियानअन्तर्गत थप आन्दोलनको कार्यक्रमलाई लक्षित गर्दै प्रहरी-प्रशासनले नयाँ रणनीति बनाएको छ । प्रसाईँको भक्तपुर थिमीस्थित निवासमा प्रहरी तैनाथ गरिएको छ । नेपाल प्रहरीको विशेष कार्यदल (एसटीएफ) को टोलीले अहिले दुर्गा प्रसाईँको घरलाई वरपरबाट घेरेको छ ।
सुरक्षा स्रोतका अनुसार उनलाई त्यहाँबाट निस्कन नदिने प्रहरीको तयारी छ । प्रहरीले आज बिहान प्रसाईँका केही समर्थकलाई पक्राउसमेत गरेको छ ।
प्रसाईँले हिजो साँझ पत्रकार सम्मेलन गरी आजदेखि हरेक दिन तीनकुनेमा भेला भएर सिंहदरबार र राजनीतिक दलका नेताका घर लक्षित ‘श्रीलंका स्टाइल’ मा आन्दोलन गर्ने उद्घोष गरेका थिए । उक्त ठाउँमा कार्यक्रमका लागि अनुमति नदिएको काठमाडौं प्रशासनले प्रष्ट्याएको छ ।
काठमाडौं प्रशासनका सहायक प्रजिअ रवीन्द्रप्रसाद आचार्यद्वारा जारी विज्ञप्तिमा उत्तेजक, अराजक, हिंसात्मक, ध्वंशात्मक गतिविधि गर्न उक्साउने र व्यक्तिकेन्द्रित भई घृणाजन्य अभिव्यक्ति दिँदै सार्वजनिक सम्पत्तिमा क्षति पुयाउने र शान्ति सुरक्षा तथा अमनचयन बिथोल्ने मनसायले कार्यक्रम सार्वजनिक गरेको भन्दै शान्ति सुरक्षामा गम्भीर असर पार्ने गरी प्रचलित कानूनविपरीतका गतिविधि गरेमा कानूनबमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ ।
प्रतिक्रिया दिनुहोस् !