१ असार,काठमाण्डाै । महिला प्रहरीमाथि यौन दुर्व्यवहारको आरोप लागेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पाललाई गृह मन्त्रालयले निलम्बन गरेको छ।
एसएसपी पाललाई निलम्बन गरिएको गृहको पत्र शुक्रबार बिहान प्रहरी प्रधान कार्यालय पुगेको प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुबेर कडायतले जानकारी दिए।
एसएसपी पाल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत छन् । उनलाई निलम्बन गरिएको पत्र प्रहरी प्रधान कार्यालयबाट सम्बन्धित प्रदेश प्रहरी कार्यालयमा पठाइने डिआइजी कडायतले जानकारी दिए।
गृहमन्त्रालयले निर्णय गरेको पत्र प्राप्त भइसकेको छ, अब सम्बन्धित निकायमा पठाउँछौं,ʼउनले भने।
उनीविरूद्धको यौन दुर्व्यवहारको आरोपबारे अनुसन्धान गर्न पाललाई प्रहरी प्रधान कार्यालय बोलाइएको पनि डीआइजी कडायतले जानकारी दिए।
पालले जेठ १९ गते शुक्रबार आफूलाई दुर्व्यवहार गरेको भन्दै महिला सहायक हवलदारले उनीविरूद्द उजुरी दिएकी थिइन्।
निवेदन दिइसकेपछि अनुसन्धानको क्रममा पाललाई दुर्व्यवहार गरेको खुलेकाले निलम्बन गरिएको प्रवक्ता कडायतले बताए।
प्रतिक्रिया दिनुहोस् !