१४ जेठ,बिराटनगर । आदिवासी जनजाति आयोगले शान्तिपूर्ण रुपमा आफ्ना माग राखेर आन्दोलित प्रदर्शनकारीमाथि अनावश्यक बल प्रयोग नगर्न चेतावनी दिएको छ ।
कोशी’ प्रदेश नामाकरणको विरोधमा विराटनगरमा भइरहेको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको भन्दै आयोगले यस्तो चेतावनी दिएको हो । यसले लोकतन्त्रकै उपहास भएको उल्लेख गर्दै आयोगले आन्दोलनरत समुदायको माग गम्भिरतापूर्वक सुन्न र वार्ताको माध्यमबाट समस्या सम्बोधन गर्न पनि सुझाएको छ ।
आयोगका अध्यक्ष रामबहादुर थापामगरले आज विज्ञप्ति जारी गर्दै आदिवासी जनजाति समुदायमाथि भएको दमनप्रति गम्भीर ध्यानाकर्षण भएको बताए । नागरिकको वाक स्वतन्त्रता, आत्मसम्मानपूर्वक बाँच्न पाउने अधिकार र मानव अधिकारको रक्षा गर्नुपर्ने आफ्नो दायित्वविपरीत सरकारले शान्तिपूर्ण आन्दोलनमा सहभागी सयौंलाई धरपकड गरि हिरासतमा राखेकोप्रति उनले चर्को असन्तुष्टि व्यक्त गरेका हुन् ।
उनले भनेका छन्,‘नेपालको संविधानले बिना हातहतियार शान्तिपूर्ण रुपले भेला भई आफ्नो माग राख्न पाउने अधिकारलाई सुनिश्चित गरेको छ । सांस्कृतिक पहिचान रक्षाको लागि शान्तिपूर्ण आन्दोलनमा सहभागी हुनबाट वञ्चित हुनेगरी निषेधाज्ञा जारी हुनु र शान्तिपूर्ण आन्दोलनमा सहभागी सयौं व्यक्तिहरुलाई धरपकड गरि हिरासतमा लिएकोले लोकतन्त्रकै उपहास भएको आदिवासी जनजाति आयोगको धारणा छ ।’
प्रदेशको पुनः नामाङ्कनको माग गर्दै गत चैत ५ गतेदेखि निरन्तर आन्दोलनमा छन् रहेका पहिचानवादीहरुले आज विराटनगरमा प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा प्रहरी र पहिचानवादी समूहबीच झडप हुँदा केही प्रदर्शनकारी घाइते भएका छन् ।
आन्दोलनमा क्रममा एक जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस् !