११ जेठ,वीरगञ्ज । रौतहटको देवाही गोनाही नगरपालिका–१ करुनियामा गोली लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७० वर्षीय शेख तैयब रहेका छन् । विहीवार बिहान टाउकोमा गोली लागेर मृत्यु भएको अवस्थामा तैयबको शव भेटिएको हो ।
तैयबलाई गोली कसले हानेको हो भन्ने खुलेको छैन । करुनिया नजिकै रहेको आरोही बाल एकेडेमी नजिक तैयबको शव विहीवार भेटिएको हो । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक (एसपी) वीर बहादुर बुढामगरले जानकारी गराए ।
हत्या कुन उद्देश्यले कसले गरेको हो भन्ने जानकारी बाहिर आएको छैन । तैयबको हत्याको खबर गाउँमा फैलिनासाथ सन्त्रासको वातावरण फैलिएको छ । उनको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा पुर्याइएको छ । आफन्तहरुले घटनाको अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस् !