४ जेठ, विराटनगर । विराटनगरको ट्राफिक चोकमा बिहीबार दिउँसो एक युवकमाथि छुरा प्रहार भएको छ ।
विराटनगर महानगरपालिका-१५ का ३२ वर्षीय राहुलकुमार रायमाथि छुरा प्रहार भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए ।
डीएसपी दाहालका अनुसार ग्लोबल आइएमई बैंकबाट पैसा निकालेर बाहिर निस्कने क्रममा उनीमाथि छुरा प्रहार भएको हो । छुरा प्रहार गरेको आरोपमा प्रहरीले विराटनगर-१२ का दिपेन्द्र कामतलाई पक्राउ गरेको छ ।
कामतले सामान्य विवादमा राहुलमाथि छुरा प्रहार गरेका थिए । उनका अनुसार कामत र रायबीच बैंक भित्र विवाद भएको थियो ।
विवाद गरेपछि बैंकका सुरक्षा गार्डले कामतलाई बैंकबाट बाहिर निकालेका थिए । राय बैंकको काम सकेर फर्किने क्रममा छुरा प्रहार भएको डीएसपी दाहालले बताए ।
छुरा प्रहारबाट रायको हातमा चोट लागेको छ। उनको विराट नर्सिङहोममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् !