एजेन्सी
६ बैसाख,वासिडटन डिसी । अमेरिकाको चर्चित मिडिया फक्स न्युजले आफूविरूद्ध परेको एउटा मानहानी मुद्दा मिलाउन १ खर्बभन्दा बढी रुपैयाँ (७८.७५ करोड डलर) तिरेको छ।
सन् २०२० को राष्ट्रपतिय चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई हराउन धाँधली भएको र त्यसमा विद्युतीय मतदान गर्ने मेसिन बनाउने कम्पनीको पनि संलग्नता भएको फक्स न्युजले समाचार प्रसारण गरेको थियो।
समाचार संस्था रोयटर्सका अनुसार विद्युतीय मतदानसम्बन्धी उपकरण बनाउने कम्पनी डोमिनियनले गलत समाचार दिएर आफ्नो मानहानी गरेको भन्दै अदालतमा फक्स न्युजविरूद्ध मुद्दा हालेको थियो।
उसले फक्स न्युजबाट १.६ अर्ब डलर क्षतिपूर्ति माग गरेको थियो। डेलावारको उच्च अदालतमा मुद्दाको अन्तिम सुनुवाइ हुनुअघि फक्स न्युजले डोमिनियनलाई ७८.७५ करोड डलर दिएर मुद्दा मिलाएको हो।
अमेरिकी इतिहासमै कुनै मिडियाले आफूविरूद्धको मानहानी मुद्दा मिलाउन यति धेरै पैसा तिरेको यो पहिलो पटक हो। यसअघि मानहानीको मुद्दा मिलाउन वाल्ट डिज्नीले १७.७ करोड डलर तिरेको थियो।
डोमिनियनविरूद्धको मुद्दा पैसा तिरेर मिलाए पनि फक्स न्युजविरूद्ध मानहानीका अरू पनि मुद्दा अदालतमा विचाराधीन छन्।
तीमध्ये बेलायतको लन्डनमा मुख्यालय रहेको विद्युतीय मतदानसम्बन्धी उपकरण बनाउने कम्पनी स्मार्टम्याटिकले २.७ अर्ब डलर क्षतिपूर्ति माग्दै फक्स न्युजविरूद्ध मुद्दा हालेको छ।
फक्स न्युज संसारका विभिन्न देशमा अखबार तथा टेलिभिजन च्यानल सञ्चालन गर्ने अन्तर्राष्ट्रिय ‘मिडिया टाइकुन’ रूपर्ट मुर्डकले स्थापना गरेका हुन्।
प्रतिक्रिया दिनुहोस् !