२ बैसाख,काठमाडौं । माओवादी नेता वर्षमान पुनको घरमा गोली चलाउने व्यक्ति उनकै आफन्त समेत रहेका प्रहरी सहायक हवल्दार प्रकाश पुन मगर भएको खुलेको छ । उनी नाताले हजुरआमा पर्ने वर्षमानकी आमा तिर्थमालीलाई भेट्न गैरीधारास्थित निवासमा पुगेका थिए ।
नेपाल प्रहरीका प्रवक्तासमेत रहेका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिपेन्द्र जिसीले वर्षमान पुनकी आमा तिर्थमाली पुनमगर गोली लागेर घाइते भएको पुष्टि गरे । उनको खुट्टाको बुढी औलामा गोली लागेको छ ।
सुरक्षा सेवा निर्देशनालयबाट खटिएका प्रहरी सहायक हवल्दार पुन मगर प्रधानन्यायाधीशको पछुवा गाडीमा हिँडिरहने सुरक्षाकर्मी हुन् ।
गएराति घटना भएपछि प्रहरीलाई २ बजे जानकारी गराइएको प्रहरी प्रवक्ता जिसीले जानकारी दिए । जिसीका अनुसार तिर्थमालीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । गोली चलेको दुर्घटनावस हो वा नियतवस भन्ने प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस् !