२३ चैत,काठमाडौं। उडिरहेको बुद्ध एयरको जहाजमा यात्रुबीच झगडा भएको दृश्य सामाजिक सञ्जालमा ‘भाइरल’ भएपछि नागरिक उड्डयन प्राधिकरणले कारवाही अगाडि बढाएको छ।
प्राधिकरणले विराटनगर-काठमाडौं उडानका क्रममा झगडा गरेर उडान सुरक्षामै प्रभाव पारेको भन्दै दुई यात्रुलाई गैरसैनिक हवाई ऐन २०१५ र नागरिक उड्डयन सुरक्षा नियमावलीअन्तर्गतको कारवाही गर्ने तयारी रहेको सुचना अधिकारी ज्ञानेन्द्र भुलले बताए।
उडिरहेको जहाजमा अवरोध सिर्जना हुने क्रियाकलाप गर्ने यात्रुलाई कारवाही गर्न सकिने व्यवस्था रहेको छ। यसअन्तर्गत पाइलटले रिपोर्ट गरेको अवस्थामा विमानस्थल कार्यालय प्रमुखको संयोजकत्वमा कारवाही अगाडि बढाइन्छ।’ सुचना अधिकारी भुलले भने,’कैद, जरिवानासँगै केही समयका लागि जहाज उडानमै प्रतिबन्ध लगाइने व्यवस्था रहेको छ।’
यस्ता गतिविधिले पाइलटको मनस्थिती नै बिग्रनुका साथै हवाई दुर्घटनाको जोखिम हुने भएका कारण कानुनी कारवाही आवश्यक रहेको उनले बताए।
बुधबार ४:३० बजे बिराटनगर-काठमाडौं उडान गरेको बुद्ध एयरको फ्लाइट नम्बर ७१० मा एक्कासी सँगै बसेका दुई यात्रुबीच झगडा भएको बुद्ध एयरका सुचना अधिकारी दिपेन्द्र कर्णले बताए। झगडा भएलगत्तै दुवैजनाको सिट परिवर्तन गरिएको उनले जानकारी दिए।
उनका अनुसार ती यात्रुलाई काठमाडौं अवतरण लगत्तै विमानस्थल सुरक्षा विभागलाई बुझाइएको थियो। एकअर्कामा परिचित दुई यात्रुबीच वित्तीय लेनदेनको विषयमा किचलो सुरु भएको वादविवाद बढ्दै ठूलो झगडामा परिणत भएको स्रोतले जनाएको छ।
प्रतिक्रिया दिनुहोस् !