२० चैत, चितवन। चितवनका पुराना कांग्रेस नेता जगन्नाथ पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेलाई समर्थन गर्ने घोषणा गरेका छन् ।
रवि चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनको उम्मेदवार हुन् । कांग्रेसले पूर्व जिल्ला सभापति जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।
पौडेलले पत्रकारहरुलाई प्रतिक्रिया दिँदै आफ्नो समर्थन रास्वपालाई रहने बताए । उनले भने, ‘छोटो समयमा देशले रुपान्तरण खोजेको छ । त्यो रुपान्तरणको निमित्त उपयुक्त टिमको आवश्यकता छ र त्यो टिममा ऊर्जावान व्यक्तिहरुको आवश्यकता छ । त्यो समूह भनेको स्वतन्त्र पार्टीहरुको समूह हो । त्यो भएको हुनाले उहाँहरुलाई सहयोग गर्दाखेरी देशले निकास पाउँछ भन्ने लाग्छ ।
पार्टी नै प्रवेश गर्ने कि समर्थनमात्र भन्ने प्रश्नमा पौडेलले भने, ‘अहिले समर्थनमात्र ।’
पौडेल रवि लामिछानेसँगै निर्वाचन अधिकृतको कार्यालयमा पुगेका छन् । स्थानीय तह निर्वाचन र प्रतिनिधि सभा निर्वाचनमा पौडेल पार्टीको आधिकारिक निर्णयविरुद्ध चुनाव लडेका थिए ।
उनले आफू स्वतन्त्रताप्रेमी भएको बताए । उनले भने, ‘म स्वतन्त्रताप्रेमी मान्छे हुँ । लामो समय आन्दोलनमा जिन्दगी बित्यो । अब परिवर्तनको आवश्यकता छ ।’
चितवन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने र राप्रपाका जीवलाल पुरी उम्मेदवार छन् ।
प्रतिक्रिया दिनुहोस् !