१७ चैत,काठमाडौं । संसदमा ६ सिट रहेको जनमत पार्टी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएको छ । सो पार्टीका एक मात्र मन्त्री अब्दुल खानले आज प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाए ।
पार्टीले दुईवटा मन्त्रालय पाउनुपर्ने वा एउटै मात्र पाए उद्योग मन्त्रालय चाहिने माग गरेको थियो । तर, सो माग पूरा नभएको भन्दै अब्दुलले राजीनामा दिएका हुन् । तर, जनमत पार्टी सरकारबाट बाहरिनुमा यो मात्र कारण होइन ।
स्रोतका अनुसार बारा २ को उपचुनावमा गठबन्धनले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई साथ दिने भएपछि जनमतका अध्यक्ष सिके राउत तीव्ररुपमा असन्तुष्ट थिए । यही आक्रोशमा हिजो उनी गठबन्धनको बैठक नै छोडेर हिँडेको स्रोतले बतायो ।
‘उपेन्द्रलाई काखी च्यापेर हामीलाई पेल्ने रणनीति स्पष्ट देखिएपछि सरकार छोडेका हौं, तत्काल फर्किने सम्भावना छैन,’ स्रोतले भन्यो ।
राउत र यादवबीच जुँगाको लडाईं छ । सप्तरीमा सिके राउतले उपेन्द्रलाई गत संसदीय चुनावमा विशाल अन्तरले हराएका थिए ।
१८ हजार मतले चुनाव हारेका यादवले आफू उपचुनाव जितेर संसदमा आउनकै लागि बारा २ बाट निर्वाचित सांसद रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाए । अब यादवले बारा २ बाट उपचुनाव लड्दैछन् भने गठवन्धनको साथ उनलाई रहनेछ ।
तर, गठवन्धनमै रहेको जनमत जसरी पनि यादवलाई संसद पस्नबाट रोक्न चाहन्छ । त्यसैले उसले माओवादीबाट गत संसदीय चुनावमा सोही क्षेत्रमा झिनोमतले पराजित शिवचन्द्र कुसवाहलाई पार्टीमा भित्र्याएर उपेन्द्रविरुद्ध लडाउने तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस् !