२६ फागुन, वीरगञ्ज । वीरगञ्ज स्थित ठाकुरराम बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनलाई लिएर विवाद उत्पन्न भएको छ । आक्रोशित विद्यार्थीहरुले विद्यार्थी कल्याण तथा खेलकुद शाखामा आगजनी समेत गरेका छन् । आगजनीबाट कोठामा रहेको केही कागजपत्र जलेको प्रहरीले जनाएको छ ।
आगजनीमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । अखिल क्रान्तिकारीका शिवम साह, अनेरास्ववियुका अभिषेक चौहान र सुजित गिरीलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले आगो बेलैमा निभाईएकोले थप क्षति हुन नपाएको बताए । ‘विद्यार्थी कल्याण तथा खेलकुद शाखाको झ्याल खुल्लै रहेछ, प्लाष्टिकको बोतलमा प्रज्वलनशील पदार्थ सहित आगो लगाएर फालिदिएछन् ।’ उनले भने ‘केहि कागजपत्र जलेको छ, आगो निभाउने क्रममा थप केहि भिजेको छ । बेलैमा आगो निभाइएकोले ठूलो क्षति हुन पाएन ।’
आगो नियन्त्रणका लागि वीरगञ्ज महानगरपालिकाको वारुण यन्त्र पनि ठाकुरराम बहुमुखी क्याम्पसमा पुगेको थियो । उनले पक्राउ परेकाहरुको आगजनीमा संलग्नता भए नभएको बारेमा अनुसन्धान भईरहेको समेत बताए ।
प्रतिक्रिया दिनुहोस् !